म्याग्दीको भेडीगोठमा चट्याङ पर्दा ७० ओटा भेडा मरे

 साउन ३२, २०७६ शनिबार १९:१९:२० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – शुक्रबार राति म्याग्दीको एक भेडीगोठमा चट्याङ पर्दा ७० ओटा भेडा मरेका छन् । 

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर-५, पाउद्वारको खयरलेक क्षेत्रमा रहेको भेडीगोठमा चट्याङ पर्दा ७० ओटा भेडा मरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरीका अनुसार चट्याङबाट स्थानीय राजेश तिलिजा, मिनबहादुर गुरुङ, दिलबहादुर शेरपुञ्जा, लालविर तिलिजा, तिलविर तिलिजा, यमबहादुर तिलिजा र कमल तिलिजाको संयुक्त लगानीमा रहेको भेडीगोठका ७० ओटा भेडा मरेका हुन् । 

चट्याङ लागेर घाइते भएका भेडाहरूको सङ्ख्या पनि धेरै हुन सक्ने अनुमान गरिएको छ । म्याग्दीमा भेडापालनको पकेट क्षेत्र मानिने खयर क्षेत्रमा स्थानीय युवाले एकल तथा सामूहिक लगानीमा भेडापालन गरेका छन् । एउटा भेडाको मूल्य न्यूनतम पाँच हजारदेखि २२ हजारसम्म पर्ने भेडापालक किसानहरु बताउँछन् ।   

वर्षौंदेखि भेडापालन गरिरहेका पाउद्वारका भेडापालक किसानले जनैपूर्णिमा मेला, बडादशैँ, तिहारलगायत अन्य चाडपर्वमा सबैभन्दा बढी भेडा बिक्री गर्दै आइरहेका छन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रालेक तथा खयरबराह क्षेत्र, रघुगंगा गाउँपालिका, बेनी नगरपालिकाको गाजने, डडुवासहित उच्च हिमाली क्षेत्रमा व्यावसायिक रुपमा भेडापालन गर्ने गरिएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया