२ वर्षभित्र देशभर राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको दाबी

 भदौ १, २०७६ आइतबार ९:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २ वर्षभित्र देशैभर राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याउने दाबी गर्नुभएको छ । 

गएको आर्थिक वर्षमा मनाङ, सोलुखुम्बु, बझाङ र दार्चुला सदरमुकाममा राष्ट्रिय विद्युत प्रसारण लाइनबाट विद्युत आपूर्ति हुन थालेको र चालू आर्थिक वर्षमा रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याइने लक्ष्य रहेको उहाँको भनाइ छ । 

अबको २ वर्षभित्र मुगु, डोल्पा र हुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली जोड्ने लक्ष रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा प्रतिवेदन सार्वजनिक गर्दै उहाँले प्राधिकरणका संरचनाको स्तरोन्नति गर्ने काम भइरहकाले लोडसेडिङमुक्त घोषणा गरिए पनि विविध प्राविधिक कारणले कहिलेकाँही बत्ती जाने गरेको बताउनुभयो । 

केही वर्षअघिसम्म घाटामा गएको प्राधिकरणले गएका तीन आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । अहिले विद्युत चुहावट १५ दशमलव ३२ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणको वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै ऊर्जा मन्त्री वर्षमान पुनले उत्पादन क्षमताको वृद्धिसँगै यसको व्यवस्थापनका लागि आउँदा दिनमा सटिक योजना, योजना कार्यान्वयन र विद्युतीय प्रणाली संचालनका मोडल निर्धारण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

यसैगरी, विद्युत उत्पादन र प्रसारण क्षमतामा आएको सुधारले उत्पादन, प्रसारण र अन्तरदेशीय प्रसारणको व्यवस्थापनको चुनौती थपिएको ऊर्जा जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनले बताउनुभएको छ । विद्युत क्षेत्रको सुधारको लागि नयाँ विद्युत ऐन आउने पक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो । ऐनले विद्युत क्षेत्रको संस्थागत एवम् संरचनागत परिवर्तनको नयाँ बाटो खोल्ने उहाँको विश्वास छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया