आत्महत्या यसरी कम गर्न सकिन्छ

 भदौ १, २०७६ आइतबार ११:८:९ | विना न्याैपाने
unn.prixa.net

आत्महत्या रोकथामका लागि विभिन्न अभियान भए पनि यो रोकिएको छैन । बालबालिकादेखि वृद्धवृद्धासम्मले आत्महत्या गरेको खबर बेलाबेला सार्वजनिक भैरहन्छ । आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु, भावी जीवनको लागि असमर्थ हुनु लगायतका कारणले आत्महत्या हुने गरेको छ । आत्महत्या गर्नेमा युवायुवतीको संख्या अझै धेरै छ ।

प्रहरीको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउनदेखि चैतसम्म ३ हजार ९ सय ५८ जनाले आत्महत्या गरेका थिए । बर्सेनि ८ प्रतिशतको दरले आत्महत्या बढिरहेको छ ।

के कारणले आत्महत्या बढेको छ ? यसलाई कसरी रोक्न सकिन्छ ? यसबारेमा विना न्यौपानेले वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायसँग कुराकानी गर्नुभएको छ । 

आत्महत्या यसरी बढ्नुको कारण के होला ?

आत्महत्या नेपालमा पनि धेरै बढेको देखिएको छ । आत्महत्याको प्रमुख कारण भनेको मानसकि समस्या हो । त्यसमा पनि एन्जाईटी, डिप्रेसन, पेनिक याट्रयाक्ट जस्ता समस्या भएका र त्यसलाई सही ढंगले उपचार नगरिएको कारणले आत्महत्या गरेको पाइन्छ ।

त्यस्तै धेरै खालको मानसिक तनाव लिने, त्यसमा पनि किशोरीहरुमा हर्मोनको कारणले ‘मुड चेन्ज’ भैरहने र मन अस्थिर हुने समस्या हुन्छ । यस्तो बेलामा राम्रो ‘सर्पाेट’ र हेरविचार भएन, उल्टै परिवारबाट दबाब भयो भने झनै समस्या पर्न सक्छ ।  कहिलेकाहीँ छोरा र छोरीबीच भेदभाव भएर छोरीलाई अलि बढी दवाब दिइयो भने त्यसले पनि तनाव दिन्छ ।

एकैपटक आत्महत्या गर्ने होइन । आत्महत्या गर्नुअघि अरु क्रियाकलाप पनि गरेका हुन्छन् । जस्तै हात काट्ने, विष सेवन गर्न खोज्ने । यस्तो देखियो भनेर किन यस्तो गरे भनेर परिवार र आफन्त अलि बढी सजक हुनुपर्छ ।

यदि स्कुलमा त्यस्तो भयो भने शिक्षकले बुझ्नु पर्ने हुन्छ  । हाम्रो समाजमा गाली गरेर जबर्जस्ती समस्या समाधान गर्न खोजिन्छ । त्यो राम्रो होइन । पढाइको धेरै ‘प्रेसर’ भयो भने, पढाइमा आमाबाबुको आशा धेरै भयो भने त्योसँग जुध्न नसकेर तनाव हुने हुन्छ । अहिले स्मार्ट फोन तथा ईन्टरनेटको  अत्याधिक प्रयोग, यूट्युमा भिडियो हेरेर धेरै समय बिताउनु, त्यस्तै गेम खेलेर समय बिताउनु पनि समस्या बनेको छ ।  

अहिले सानै उमेरमा ‘लव अफयर’ अनि ‘ब्रेकअप’ भएर फिल्मी शैलीको व्यवहारले गर्दा पनि धेरै आत्महत्याको समस्या बढेको  छ । 

त्यसो भए प्रेमका कारण आत्महत्या गर्ने क्रम धेरै छ हो ? 

पे्रम सम्बन्ध फिल्मी शैलीको भयो । १४/१५ वर्षको उमेरमा नै प्रेम सम्बन्ध हुँदा भागेर बिहे गर्नुपर्ने तथा पढाई छोड्नुपर्ने अवस्था आएको छ । परिवारले यो उमेरमा बिहे गर्नु हुँदैन भनेर ‘प्रेसर’ दिनुभन्दा राम्रो सँग कारण खुलाएर सम्झाउनु पर्छ । 

अर्काे परिपक्व नहुँदै प्रेम सम्बन्धमा हुँदा ‘ब्रेकअप’ हुने सम्भावना पनि त्यत्तिकै हुन्छ । ‘ब्रेकअप’ हँुदा फिल्मी शैलीमा मरिदिन्छु भनेर मर्न खोज्ने घटनाहरु भएका छन् । 

आत्महत्याअघि कस्तो लक्षण हुन्छ ?

एकान्तमा बस्न मन पराउने, कसैसँग बोल्न नखोज्ने, नपढ्ने, रुने, त्यसमा पनि कुनै मानसिक समस्या तथा अरु कुनै लक्षण हुन सक्छ  । त्यो पनि घरपरिवार तथा नजिकका व्यक्तिले खोज्नु पर्छ ।  किशोरी हो भने आमाले गोप्य कुरा पत्ता लगाउनु पर्छ । आमासँग पनि भनिनन् भने महिला मनोपरामर्शकोमा गएर विषय पत्ता लगाउन सकिन्छ । अहिले कति कुराहरु नबुझेर, नजानेर लहैलहैमा लागेर भैरहेका छन् । परिवारले बुझ्ने कोशिस गरेमा आत्महत्याको जोखिम घटाउन सकिन्छ । 

अर्को कुरा छोराछोरीलाई पढाइको लागि घरबाट बाहिर राख्ने, होस्टलमा राख्ने गर्दा उनीहरुले आमाबाबुबाट माया कम महसुस गरेर पनि आत्महत्या गर्न खोज्ने घटना पनि भैरहेका छन् नि ?

हो, किशोरकिशोरीलाई सम्झाएर, बुझाएर होस्टेलमा राम्रो पढ्न पाउँछौ, तिम्रो भविष्य राम्रो हुन्छ, कुनै डिस्टर्ब हुँदैन भनेर उनीहरु बस्न मान्छन् भने राख्ने हो ।

तर आमा बाबुसँग समय छैन, जसरी पनि पढाउनुपर्छ, हामी जति पनि पैसा खर्च गर्छौं भनेर छोराछोरी नमान्दानमान्दै पनि राख्यो भने उनीहरुमा ‘आमाबाबुले माया गर्दैनन्, खाली दबाब मात्रै दिन्छन्’ भन्ने सोचको विकास हुन्छ  । चिन्ता बढ्छ र डिप्रेसनमा जाने सम्भावना धेरै हुन्छ । आमाबाबाले नै माया गर्दैनन् भने किन पढ्नु, किन बाँच्नु भन्ने सोच आएर आत्महत्याको जोखिम बढ्छ । 

आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी हुन्छन् ? यसको कारण के होला ?

किन बढी हुन्छ भनेर खोज त भएको छैन । तर बच्चा पाउने उमेरका महिलामा डिप्रेसनको जोखिम बढी हुने भएकाले आत्महत्या बढेको हो भनेर केही तथ्याङ्कले देखाएको छ ।

तर यो नै कारणले गर्दा किशोरीले आत्महत्या बढेको भनेर भन्न सकिने अवस्था छैन । तर बढी भावुक, बढी इमोशनल, हिनताबोध धेरै हुने भएकाले मानसिक समस्या आएको हुन सक्छ र अरु कुनै समस्याले गर्दा पनि आत्महत्या गरेको हुन सक्छ  ।

यसमा घर परिवारको भूमिका कस्तो हुनुपर्छ ? 

धेरै तहमा आत्महत्या रोकथाम गर्न सकिन्छ । एक त किशोरकिशोरीलाई नै हाम्रो जिन्दगीको महत्व कति हो, एक पटक पाएको जिन्दगी त्यसै फाल्नु हुँदैन भनेर चेतना जगाउनु पर्छ  । त्यसपछि आमाबाबुले छोराछोरी कस्तो तनावमा गुज्रिरहेको छ ? कस्तो खालको समस्या रहेको छ ? स्कुल तथा कलेजमा के छ ? साथीहरु कस्ता छन् ? अल्कोहल खाने, ड्रग्ग्स खाने बानी छ कि छैन ? भनेर याद गर्नुपर्छ । 

कतिपय कुरा घर परिवारलाई भन्न नसक्ने, तर साथीभाइलाई भन्न सक्ने हुन्छ । यस्तोेबेला त परिवारकोभन्दा पनि साथीभाइको भूमिका धेरै हुन्छ होला नि ?

एकदम हो, साथीसँग जति सजिलै आफ्ना कुरा राख्न सकिन्छ, घरमा कतिले सक्दैनन् । आफ्नो मिल्ने साथीसँग मनमा लागेका कुरा भन्न सकियो भने पनि आफूभित्र गुम्सिएका समस्या पोख्न सकियो भने त्यसले मनलाई हल्का पार्छ  । समस्या परेको बेला साथीहरुले सहयोग गर्नुपर्छ ।

साथीसँग मिलेर कसरी समाधान गर्ने भनेर सहयोग लिन पनि सकिन्छ ।  अनि मिडिया, इन्टरनेटमा आत्महत्या, हिंसा जस्ता सामग्री हेर्नु हुँदैन । यसले नराम्रो सन्देश दिन सक्छ । आत्महत्या कुनै पनि समस्याको समाधान होइन । योभन्दा पहिले उनीहरुलाई सहयोग चाहिन्छ र साथीले सहयोग गर्नैपर्छ ।  

आत्महत्या रोकथामका लागि अरु उपाय के हुन सक्छ ? 

–व्यक्तिगत रुपमा आत्महत्या कस्तो खालको समस्या हो भनेर जनचेतना बढाउनुपर्छ । 
–परिवारले राम्रोसँग समस्या बुझ्नुपर्ने हुन्छ । 
–स्कुल कलेजमा काउन्सिलिङ गर्ने मान्छे तथा  समन्वयनकर्ता राख्नु पर्छ  । 
–त्यस्तै मानसिक समस्या आयो भने कसरी कसलाई भन्ने भनेर वातावरण मिलाउनु पर्छ । 
–कुनै खालको मानसिक समस्या देखा पर्याे भने मनोचिकित्सक तथा मनोमरामर्सकर्ताकोमा गएर सल्लाह लिनुपर्छ । 
–त्यस्तै “सुसाइड हेल्पलाइन ” भन्ने छ, कसैलाई नराम्रो सोच आयो भने यो हेल्पलाइनमा फोन गरेर सहयोग लिन पनि सकिन्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया