शैक्षिक हड्तालका कारण गुल्मीका सम्पूर्ण विद्यालयको पठन–पाठन ठप्प

 भदौ १, २०७६ आइतबार ११:४०:५० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – विप्लव नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी गुल्मीले आइतबारदेखि गरेको शैक्षिक हडतालका कारण गुल्मीका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन् । 

विद्यालय बन्द भएपछि आइतबार बिहानैदेखि पढ्नका लागि विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय परिसरबाट फर्किन बाध्य भएका छन् । 

विप्लव नेतृत्वको विद्यार्थी संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्का गएको बिहीबार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट रिहा भएलगत्तै प्रहरीले पुनः पक्राउ गरी अर्खाखाँची लगिएकाले उनीहरुको रिहाइको माग गर्दै संगठनले गुल्मीमा अनिश्चितकालीन शैक्षिक हड्ताल गरेका हुन् ।

जिल्लाका शैक्षिक संस्थाहरु बन्द गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पैडेलले बताउनुभयो । उहाँले केही असहज परिस्थिति भएको खण्डमा आफूहरु सुरक्षा र सहजीकरणका लागि तयार रहेको बताउनुभयो ।

गएको महिना कम्युनिष्ट विद्यार्थी अभियान–२ उद्घाटन गर्ने सिलसिलामा तम्घासको एक विद्यालयबाट प्रहरीले जिल्ला सचिव विक र जिल्ला सदस्य खड्कालाई पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया