किसानका समस्या बुझ्न मुख्यमन्त्री पाैडेल गोठ–गोठमा

 भदौ १, २०७६ आइतबार १२:२३:५६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – दिनहुँको व्यस्त काम । दलका नेतादेखि कार्यकर्तासम्मको भेटघाट । मन्त्रालयगत कामको रिपोर्टिङ लिने र निर्देशन दिने काम पनि  भ्याइ नभ्याइ । 

तर मन्त्रालय र कार्यालयगत कामको समीक्षालाई थाती राख्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल किसानका घरगोठमा पुगेर उनीहरुका समस्या बुझ्न थाल्नु भएको छ । 

बिदाको समय निकाल्दै यसअघि मनहरी गाउँपालिका र हेटौँडा पदमपोखरीका किसानले उत्पादन गरेको तरकारी खेती र पशुपालन हेर्नु पुग्नु भएका मुख्यमन्त्री पौडेल समय निकाल्दै शनिबार मकवानपुरगढी किसानका घर गोठ पुग्नु भयो । 

मुख्यमन्त्री पौडेल ४ घण्टा किसानका गोठमा 

मुख्यमन्त्री पौडेल मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीका किसानले व्यवसायिक रुपमा गाईपालन गरेको हेर्न गोठसम्म पुग्नुभयो । चार घण्टाको अवधिमा किसानले पनि मुख्यमन्त्री पौडेलसमक्ष आफ्ना वर्षाैँदेखिका समस्या निर्धक्कले राख्न भ्याए । सबैजसो किसानको एउटै समस्या थियो– दूध उत्पादन लागत महँगो भयो, उत्पादन लागत घटाउन प्रदेश सरकारले सहयोग गर्नुपर्‍यो । 

मुख्यमन्त्री निवासबाट शनिबार दिउँसो २ बजे मकवानपुरगढी निस्कनु भएका पौडेलले साँझ ६ बजेसम्म मकवापनुरगढीदेखि हेटौँडा महानगरपालिका वडा नम्बर ६ चौघडासम्मका किसानका घर, गोठ र बारी हेर्न भ्याउनु भयो । 

उहाँले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीका किसान रामप्रसाद दाहाल, नरेन्द्र लम्साल र प्रेमप्रसाद दाहालको गोठमा व्यवसायिक रुपमा पालिएका गाईको अवलोकलन गर्नु भयो । तीनै जना किसानले व्यवसायिक रुपमा गाईपालन गरेर मनग्य आमदानी लिँदै आएको बताए । उनीहरुले उन्नत जातको गाईपालन गरेर बाछी समेत हुर्काएर गाईको रुपमा विकास गरेका छन् । 

मकै, गहुँ, कोदो र तरकारी खेती गर्ने बारीमा घाँस र केरा खेती गरिएको छ । केही किसानले गाईपालन गरेका छन् भने केहीले बाख्रा अनि कुखुरा । हेटौँडा बजारसँग जोडिएको यो गाउँपालिकाका धेरै किसानको रोजाइ भने गाईपालन नै रहेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताउनु भयो । 

व्यवसायिक रुपमा गाईपालन गरेका उदाहरणीय ३ किसान

मक्रान्चुलीका रामप्रसाद दाहालले ३३ ओटा गाई, ३ ओटा भैँसीपालन गरेर दैनिक एक सय ५० लिटर दूध बिक्री गर्दै आाउनु भएको छ । धेरैजसो गाई ब्याउने भएकाले अहिले दूधको मात्रा थोरै भएको उहाँ बताउनु हुन्छ । 

त्यस्तै अर्का किसान नरेन्द्र लम्सालले गाईपालनसँगै साना बाछीहरुलाई हुर्काउँदै गाईको संख्या वृद्धि गर्नु भएको छ । यता वर्षौँदेखि गाईपालन गर्नुभएका प्रेमप्रसाद दाहालको गोठमा १८ ओटा गाई छन् । उहाँले मेसिनको माध्यमले दूध दुहुने र दैनिक एक सय ५० लिटर दूध बिक्री गर्दै आउनु भएको छ । 

दूधको उचित मूल्य नपाएको भन्दै किसानहरुले समस्या भोग्नु परेको बताएका छन् । गाईलाई खुवाउने दाना, ढुटो, चोकर, परालको मूल्य आकाशिएको र त्यही अनुसारको दूधको मूल्य नपाएको उनीहरुको गुनासो छ । 

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान दिन्छौँ : मुख्यमन्त्री पौडेल

प्रदेश ३ सरकारले चालु आर्थिक वर्षको साउन महिनादेखि किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने गरी बजेट ल्याएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनु भयो । दूध र दूधजन्य पदार्थमा आत्मनिर्भर बनाउने गरी सरकारले काम गर्न लागेको समेत उहाँले बताउनु भयो । 

किसानका निम्ति जे गर्नुपर्छ, आफू त्यो गर्न तयार रहेको मुख्यमन्त्री पौडेलले विश्वास दिलाउनु भयो । चीनबाट प्रदेश सरकारले गाई नल्याउने र स्थानीय गाईपालनमा प्रविधि भित्र्याएर काम गर्ने उहाँले बताउनु भयो । किसानका निम्ति कुनै न कुनै रुपमा प्रदेश सरकारले काम गर्ने उहाँको भनाइ थियो । 

किसानको व्यावसायिक पशुपालन र तरारी खेतीपछि मुख्यमन्त्री पौडेलले मकवानपुरगढी गाउँपालिकाको कार्यालय र मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको पनि अनुगमन गर्नु भयो । 

नेकपा नेताले गरेको आधुनिक फूल एवं तरकारी खेती

हेटौँडा महानगरपालिका वडा नम्बर ६ चौघडामा नेकपाका नेता बालकृष्ण चौलागाईँले आधुनिक रुपमा गर्नुभएको फूल र तरकारी खेतीको मुख्यमन्त्री डोरमणि पौडेलले अनुगमन गर्नु भएको छ । 

चौलागाईँले व्यवसायिक रुपमा प्रविधिको प्रयोग गरेर फूल तथा तरकारी खेती गर्नका लागि नेचुरल भेन्टीलेर ‘ग्रीन हाउस’ को निर्माण गर्नुभएको छ । त्यसमा व्यवसायिक रुपमा तरकारी खेती गर्ने योजना रहेको चौलागाईँले बताउनु भयो ।

फूल खेती गरेर चर्चामा आउनुभएका चौलागाईँले अब भने फूलसँगै तरकारी खेती समेत गर्न लाग्नु भएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया