प्रधानमन्त्री ज्यू, एक पटकको लडाइँले जीवनभर जे पनि गर्नलाई लाइसेन्स दिँदैन: मिनेन्द्र रिजाल

 भदौ १, २०७६ आइतबार १३:०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीले यो सरकार लोकतन्त्रका लागि लडेको सरकार हो भनेर दोहोर्याइरहनु आवश्यक नरहेको बताउनुभएको छ । 

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनपछि आफ्नो धारणा राख्दै नेता रिजालले यो सरकार लोकतन्त्रका लागि लडेको नभइ लोकतन्त्रका लागि लडेकाहरु सरकारमा पुगेका होलान भन्दै यसप्रति हेक्का राख्न आग्रह गर्नुभयो ।  

‘सरकार लोकतन्त्रका लागि लडेको होइन, लोकतन्त्रका लागि लडेका मानिसले बनाएको सरकार होला । प्रधानमन्त्री ज्यू हेक्का रहोस ।’

उहाँले एक पटकको लडाइँले जीवनभर जे पनि गर्नलाई लाइसेन्स नदिने पनि स्पष्ट पार्नुभयो । हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा र वाम आन्दोलनका लागि लडेकाहरुले पनि घुँडा टेकेको आफूहरुले देखेको भन्दै उहाँले एक पटकको लडाइँले जीवनभरका लागि लाइसेन्स नदिने बताउनुभयो । 

‘एक पटकको लडाइले जीवनभर जे पनि गर्नलाई लाइसेन्स दिँदैन’, उहाँले भन्नुभयो, ‘हिजो प्रजातन्त्रका लागि लड्नेहरु पन्चायतमा गए । वाम आन्दोलनका लागि लडेकाहरुले घुडा टेके । त्यसैले एउटा लडाइले सदैब त्यो अधिकार दिँदैन ।’ 

नेता रिजालले अर्को चुनावपछि आफूलाई पनि सरकारमा बस्न मन नलागेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति व्यग्य गर्दै अर्को चुनावमा कांग्रेसबाहेक अरुको सरकार नबन्ने पनि बताउनुभयो । 

‘एउटा कुरा खुशी लाग्यो, प्रधानमन्त्रीले भन्नु भयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ । यस्तो काम देखेपछि अर्को पल्ट त कांग्रेसबाहेक अरु कसको सरकार बन्छ ?’

प्रधानमन्त्रीले यो कार्यकालसम्म सरकारमा आफै बस्ने भन्ने भनाइले सत्ता भित्रै तरंग गयो कि भन्ने आशंका पनि उहाँले व्यक्त गर्नुभयो । 
पार्टी एकीकरणका बेला केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्रीको कार्यकाल आधा आधाको सहमति भएको कुरा तर्फ इंकित गर्दै नेता रिजालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले सत्ताभित्र तरंग गयो कि भन्ने आशंका व्यक्त गर्नुभयो । 

‘यसपल्टसम्म त यही सरकार हो भन्दा तरंग चैँ सत्तामा गयो गएन मलाई थाहा छैन । सुभकामना छ सत्ताभित्र कोही तरंगित नभाहोस् ।’
नेता रिजालले प्रधानमन्त्रीले अहिले मन्त्रीहरुसँग कार्यसम्पादन करार गरिरहेको प्रति टिप्पणी गर्दै प्रधानमन्त्रीले चुनावका बेला जनतासँग गरेको कार्यसम्पादन करार किन पूरा भएन भनेर प्रश्न सोध्नुभयो । 

‘कार्यसम्पादन करारकका बारेमा औँला उठाएर प्रधानमन्त्रीले मन्त्री फेर्नुहोला’, उहाँले भन्नुभयो, ‘तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खोइ ? हिजो जनताले चुनावमा गरेको कार्यसम्पादन करार पुरा भएन प्रधानमन्त्री ज्यू ।’ 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया