अस्पतालको लापर्वाहीले बिरामीको ज्यान गएको आरोप

 भदौ १, २०७६ आइतबार १३:२०:९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुर अञ्चल अस्पतालको लापर्वाहीले महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको ज्यान गएको आफन्तजनले आरोप लगएका छन् ।

शनिबार समान्य ज्वरो आउने र पेट दुख्ने समस्या भएपछि जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका युवक कुन्दनको अस्पतालकै चरम लापर्वाहीले आइतबार बिहान ५ बजे ज्यान गएको परिवारले जनाएको छ ।

कुन्दनका भिनाजुका अनुसार आकस्मिक कक्षका चिकित्सकले समयमा उपचार नगरेको र पछि ‘ड्युटि’मा रहेका ल्याबको कर्मचारी र डा.आनन्दकुमार झाको लापर्वाहीले कुन्दनको ज्यान गएको हो ।

उहाँका अनुसार बिहान पौने ५ बजे डा. आनन्दकुमार झाले बिरामीको अवस्था सिकिस्त भएको र आईसीयूमा भर्ना गर्नु पर्ने भन्दै बाहिरको निजी हस्पिटलमा लैजान सल्लाह दिनुभएको थियो । जनकपुर अञ्चल अस्पतालमै रहको आईसीयूमा भर्ना गरिदिन परिवारका सदस्यले गुहार गर्दा डा. झाले आईसीयू खालि नरहेको बताउनुभएको थियो । तर त्यतिबेला आईसीयूको तीनवटा बेड खालि रहेको कुन्दनका भिनाजुको दाबी छ । 

कुन्दनलाई जनकपुर अञ्चल अस्पतालबाट अर्को अस्पतालमा लैजान एम्बुलेन्स खोज्दाखोज्दै बिहान ५ बजे कुन्दनको ज्यान गएको उहाँका भिनाजुले जानकारी दिनुभयो ।  

बिरामीको अवस्था समान्य थियो, तर रिपोर्ट ढिलो आएर बचाउन सकिन : डा. झा

यता उपचारमा संलग्न चिकित्सक डा. अनन्दकुमार झाले सुरुमा बिरामीको अवस्था समान्य भए पनि ल्याबको रिपोर्ट ढिलो आएको कारण बिरामीलाई बचाउन नसकेको स्वीकार गर्नुभयो ।

‘मैले सुरुमै बिरामीलाई देखेँ समान्य ज्वरो थियो, अलि–अलि पेट दुखेको थियो । मैले रगत पिसाब परीक्षण गराउन भनेँ । रगत पिसाबको रिपोर्ट ४ घण्टा ढिलो आयो । रिपोर्ट हेर्दा बिरामीलाई सुगरले च्यापिसकेको थियो, रगतको पनि अभाव थियो’ डा. झाले भन्नुभयो ‘रिपोर्ट समयमै पाएको भए बिरामीलाई कन्ट्रोल गर्न सक्थेँ ।’

उहाँले भन्नुभयो ‘बिरामीलाई आईसीयूमा राख्नुपर्ने अवस्था थियो । मैले यहाँको स्टाफलाई आईसीयूको बेड हेर्न भनेँ । आईसीयूमा बेड खाली छैन भनेपछि मैले बिरामीलाई अन्य अस्पतालमा लैजान भनेको हुँ, यसमा मेरो कुनै लापरबाही छैन ।’ 

उपचारमा लापर्वाही गर्नेलाई कारबाही गर्छु : मेडिकल सुपरिन्टेन्डेन्ट यादव

घटनापछि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले बाहिर आएको कुरा अनुसार उपचारमा संलग्न चिकित्सक र ल्याबका कर्मचारीमाथि छानबिन गरी लापर्वाही गरेको भए कारबाही गर्ने बताउनुभयो । ‘मैले यो विषयमा चिकित्सकसँग कुरा गरेँ । म यस विषयमा छानबिन गरेर लापर्वाही गर्नेलाई कारबाही गर्छु ।’ यादवले भन्नुभयो ।

जनकपुर अंचल अस्पतालको लापरवाहीले पटक पटक अकालमै समान्य बिरामीको ज्यान जाने गरेको छ । यस अघि पनि कतिपय घटना चिकित्सककै लापर्वाहीले भइसकेको छ । तर दोषीमाथि कारबाही भएको छैन । 

भर्ना गर्दा समयमा बिरामीको उपचार नगर्ने, चेकजाँच र रिपोर्ट दिन आलटाल गर्ने र ड्युटिमा रहेका चिकित्सक तथा नर्सले कुनै मतलब नगर्ने र बिरामीको अवस्था गम्भीर भएपछि बाहिर रेफर गर्न भन्ने जस्ता प्रवृतिले जनकपुर अञ्चल अस्पतालमा पटक–पटक बिरामीको ज्यान जाने गरेको उपचार गराउन आएका सर्वसाधारणहरुको गुनासो छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया