संसदमा रवि लामिछानेको गिरफ्तारी र पुडासैनीको मृत्यु प्रकरणका कुरा

 भदौ १, २०७६ आइतबार १३:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको आइतबारको बैठकमा पत्रकार शालिग्राम पुडासैनीको रहस्यमय मृत्यु र रवि लामिछाने गिरफ्तार प्रकरणको विषयले प्रवेश पाएको छ । 

संसदको शून्य समयमा आफ्ना भनाइ राखेका नेकपाका सांसद महेश्वरजंग गहतराजले पत्रकार पुडासैनीको मृत्यु प्रकरण र त्यसको अनुसन्धानका लागि रवि लामिछानेको गिरफ्तारीपछि अहिले भइरहेको गतिविधि शान्ति सुरक्षा तथा सुसाशनकाविरुद्ध रहेको बताउनुभयो । 

आफ्नो मान्छे वा आफूलाई मन परेको मान्छे अपराधि हुँदैन भन्ने मनोविज्ञानले समाजलाई नकारात्मक दिशा तर्फ लगिरहेको भन्दै यसमा गम्भीर बन्न सबैलाई आग्रह पनि गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मेरो मान्छे वा मेरो मन परेको मान्छे सुन पानीको चोखो हुन्छ । अपराधि हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लगिरहेको छ ? आज गम्भीर चिन्ता र चासोको विषय भएको छ ।’ 

उहाँले लामिछानेको गिरफ्तारको घटनालाई लिएर ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने उखानलाई चरितार्थ गर्दै अराजक, गैरकानुनी र अस्वभाविक हुलहुज्जत गर्ने कार्य भइरहेको भन्दै त्यस्तो कार्यको निन्दासमेत गर्नुभयो ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रकृया रहेको भए पनि अहिले यसलाई उल्लंघन गर्दै हुलहुज्जत गरेर शान्ति सुव्यवस्थालाई खलल पार्ने अवस्था निम्त्याएको प्रति गम्भीर चिन्ता उत्पन्न भएको बताउनुभयो ।

यस्ता गतिविधिले अपराधिलाई अझ प्रोत्साहन गर्ने हुँदा यसतर्फ सबैको ध्यान गम्भीर हुनु जरुरी रहेको पनि उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया