रोनाल्डो भित्रिएपछि युभेन्टसको शेयरको मूल्य आकासियो

 असार २७, २०७५ बुधबार १४:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडबाट युुभेन्टसमा आवद्ध भएका राेनाल्डोले क्लबका लागि कति गोल गर्लान ? पहिलो वर्ष कति उपाधि जिताउलान् ? पूरा चार वर्षको उनको करियर कस्तो होला ? यी प्रश्नहरुको जवाफ आउने समयले बताउने नै छ ।

तर रोनाल्डो भित्र्याउन नपाउँदै युभेन्टसले आर्थिक फड्को मार्न थालिसकेको छ ।

अझ रोनाल्डो भित्र्याउने चर्चा सुरु भएदेखि नै युभेन्टसको स्टक मार्केटको मूल्य आकासिएको छ । इटालीको सबैभन्दा सफल क्लबले रोनाल्डोलाई सम्झौता गर्ने पक्कापक्की भएपछि नै उकालो लाग्न थालेको युभेन्टसको शेयरको मूल्य बढ्ने क्रम जारी छ ।

केही दिनअघि स्पेनिस मिडियाले रोनाल्डो सम्झौताका बारेमा समाचार प्रकाशन गरेपछि लगातार बढ्दै आएको शेयरको मूल्य बुधबार ५.८९ प्रतिशतले वृद्धि भएको छ ।

सोमबारको तुलनामा मंगलबार ३.२ प्रतिशतले बढेको थियो । एक सातामा उसको शेयर बजार झण्डै २५ प्रतिशतले उकालो लागेको हो । युभेन्टसको पछिल्लो चार महिनामा यो सबैभन्दा राम्रो नतिजा हो । युरोपेली स्टक मार्केटमा युभेन्टस अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले माथि उठेको छ ।

युभेन्टसको आर्थिक भविष्य निकै राम्रो देखिएको छ । इटालियन शीर्ष डिभिजनको युभेन्टसमा रोनाल्डोको उपस्थितिका कारण प्रसारण अधिकार पनि बढ्न सक्नेछ ।

जसका लागि टेलिभिजन नेटवर्कहरुको चरम प्रतिष्पर्धा हुनेछ । युभेन्टसलाई मात्र होइन इटालियन लिग सिरी ए कै आमदानी पनि बढ्नेछ । यससँगै युभेन्टसको अन्तर्राष्ट्रिय पहुँच र प्रतिष्ठा पनि बढ्नेछ । साथै क्लबसँग सम्बन्धीत फुटबल किट, जर्सी, ब्याज लगायतका सामग्रीहरुकाे बिक्री बढेर मनग्य अाम्दानी  भित्रिनेछ ।

अघिल्लो वर्ष युभेन्टसले विश्व बजारमा आठ अर्ब अमेरिकी डलर आम्दानी हात पारेको थियो । सन् २०२० सम्म उसको ४७ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।  
 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया