प्रधानमन्त्री रोजगार कार्यक्रमका सूचीकृत शैक्षिक बेरोजगारले पाए नयाँ काम

 भदौ १, २०७६ आइतबार १५:३०:५४ | उज्यालो सहकर्मी

काठमाण्डाै – काठमाण्डौको कीर्तिपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका शैक्षिक बेरोजगारले रोजगारी पाएका छन् । सूचीकृत भएकामध्ये १ सय ९ जना शैक्षिक बेरोजगारले फेरि नयाँ रोजगारी पाएका हुन् ।

नगरपालिकामा एक कार्यक्रमको लागि नयाँ जनशक्ति चाहिएकोले पहिले नै सूचीकृत भएकामध्ये प्रविणता तह उत्तीर्ण भएकाहरुलाई नै कामको लागि छनौट गरेको नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक राजकुमार पाण्डेले बताउनुभयो ।

‘हामीलाई नयाँ कार्यक्रमको लागि कर्मचारी आवश्यकता परिरहेको थियो, नयाँ खोज्नुभन्दा प्रधानमन्त्री रोजगारीमा सूचीकृत भएकाहरुलाई नै बोलाएका हौँ’ उहाँले भन्नुभयो, ‘शैक्षिक बेरोजगार बसेकाहरुलाई रोजगारीको यो राम्रो अवसर हो ।’

नगरपालिका र गैरसरकारी सँस्था, स्वीन नेपाल (नेपालमा बाल कामदार)को प्राविधिक सहयोगमा थालिएको लगत संकलन कामको लागि प्रविणता तह उत्तीर्ण गरेका १ सय ९ जनालाई छनौट गरिएको संयोजक पाण्डेले बताउनुभयो ।

छनौट भएकाहरुले घरघरमा गएर मोबाइल एपबाटै घरधुरी संख्या, बालबालिकाको संख्या, उनीहरुको पढाइको स्तर र बाल कामदारको अवस्थाबारे लगत संकलन गर्नुपर्ने हुन्छ ।

साउनको पहिलो हप्तादेखि सुरु भएको यो काम भदौ १५ गतेसम्म चल्ने र प्रधानमन्त्री रोजगार कार्यक्रमले तोकेअनुसार नै तलब दिने पनि उहाँले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमले सकारात्मक प्रभाव पारेको भन्दै अहिले बेरोजगार युवाहरु पालिकामा आफै आएर बेरोजगारको सूचीमा सूचीकृत हुन खोजेको पनि बताउनुभयो । 

‘सुरुसुरुमा के काम पाइएला र भनेर खासै आउन मानेका थिएनन्, पहिलो चरणको कामपछि बेरोजगार युवाहरु आफै सूचीकृत हुन आइरहेका छन्’, उहाँले भन्नुभयो, ‘यस्तै पढेलेखेअनुसारको काम भयो भने हुन्थ्यो भन्ने गुनासो थियो, त्यसैलाई बुझेर हामीले उहाँहरुमध्येबाटै छनौट गरेका हौँ ।’
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया