एक दिवसीय क्रिकेटमा १० हजार रन, सय विकेट र सय क्याच लिने क्रिकेटरहरु

 भदौ १, २०७६ आइतबार १७:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेटको दुनियाँमा टी–२० विश्वकपको आगमनसँगै क्रिकेटको रुप पनि तीव्ररुपमा बदलिरहेको छ । साथै अलराउण्डर क्रिकेटरको पनि माग बढिरहेको छ । 

अहिलेको समयमा विश्वका जुनसुकै क्रिकेट टिममा अलराउण्डरको भूमिकालाई विशेष महत्व दिने गरिएको छ । अहिले टिममा यस्तो खेलाडीको जरुरी छ, जो मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ तीन ओटै कुरामा राम्रो होओस् । 

आजको समयमा इंग्ल्याण्डका बेन स्टोक्सदेखि लिएर भारतका हार्दिक पाण्ड्यालाई उत्कृष्ट अलराउण्डर मानिन्छ । 

तर एकदिवसीय क्रिकेटको इतिहासमा केही यस्ता क्रिकेटर पनि जसले १० हजार रनभन्दा बढी रन मात्र हानेनन्, १०० विकेट पनि लिएर मैदानमा १०० क्याच पनि लिए । आउनुहोस् ती खेलाडीका बारेमा चर्चा गरौँ–

सचिन तेन्दुलकर

विश्व क्रिकेटमा यस्तो कुनै रेकर्ड छैन होला, जहाँ सचिन तेन्दुलकरको नाम नहोस् । आफ्नो २३ वर्षे एक दिवसीय क्रिकेट करियरमा ‘मास्टर ब्लास्टर’ सचिनले १८ हजार चार सय २६ रन बनाउँदै १५४ ओटा बढी विकेट पनि लिएका छन् । लेग ब्रेक र अफ ब्रेकको मिश्रणबाट सचिनले भारतीय टिमलाई कैयौँ खेल जिताएका छन् । त्यस्तै उनले १४० क्याच पनि लिएका छन् ।  

सनथ जयसूर्या

यो उपलब्धिको दोस्रो स्थानमा श्रीलंकाका महान खेलाडी सनथ जयसूर्याको नाम आउँछ । सनथ जयसूर्याले ४४५ एक दिवसीय खेल्दै १३ हजार चार सय ३० रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा ३२३ विकेट लिएका सनथले १२३ क्याच पनि लिएका छन् । 

ज्याक्स कालिस

दक्षिण अफ्रिकाका ज्याक्स कालिसलाई विश्व क्रिकेटका अहिलेसम्मका सर्वश्रेष्ठ अलराउण्डरका रुपमा लिइने गरिएको छ । एकदिवसीय क्रिकेटमा ११ हजार पाँच सय ७९ रन बनाएका कालिसले २७३ विकेट लिएका छन् । त्यस्तै उनले १३१ क्याच लिएका छन् । 

सौरभ गांगुली

भारतका सफल कप्तानका रुपमा चिनिएका सौरभ गांगुली पनि यो सूचीमा अटाएका छन् । सौरभ गांगुलीले आफ्नो सानदार एकदिवसीय क्रिकेट करियरमा ११ हजार तीन सय ६३ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा १०० विकेट लिएका गांगुलीले क्याच पनि १०० ओटा नै लिएका छन् ।

तिलकरत्ने दिलशान

तिलकरत्ने दिलशान यो सूचीमा अटाउने दोस्रो श्रीलंकाका क्रिकेटर हुन् । श्रीलंकाका उत्कृष्ट ब्याट्सम्यान रहेका दिलशानले आवश्यक परेको समयमा बलिङ र विकेटकिपिंग पनि गर्न भ्याए । 

एकदिवसीय क्रिकेटमा १० हजार दुई सय ९० रन बनाएका दिलशानले बलिङ गर्दै १०६ विकेट पनि लिएका छन् । एकदिवसीय क्रिकेटमा १२३ क्याच लिँदै उनले आफूलाई फिल्डिंगमा पनि उत्कृष्ट साबित गरेका छन् । 

क्रिस गेल

हाल वेस्ट इण्डिज भ्रमणमा रहेको भारतीय टिमविरुद्ध क्रिस गेलले ३०० औँ एकदिवसीय खेल खेल्न भ्याए । क्रिस गेललाई भिभियन रिचार्डस्, गर्डन ग्रीनिज र ब्रायन लारा जस्ता विस्फोटक ब्याट्सम्यानको सूचीमा क्रिस गेल पनि पर्छन् । 

‘युनिभर्सल बोस’ को नामले चर्चित गेलले एकदिवसीय क्रिकेटमा १० हजार चार सय ८० रन बनाउँदै १६७ विकेट पनि लिएका छन् । त्यस्तै उनले १२४ क्याच पनि लिएका छन् । यही प्रदर्शनले उनलाई ‘युनिभर्सल बोस’ का रुपमा चिनिन्छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया