नेपाल-भारत सीमा क्षेत्रका ढलेका स्तम्भहरु १ महिना बितिसक्दा पनि अझै अलपत्र

 भदौ १, २०७६ आइतबार १९:२५:२० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – बाढीका कारण एक महिनाअघि सीमा क्षेत्रमा ढलेका सीमा स्तम्भहरु अहिलेसम्म पनि अलपत्र अवस्थामा छन् । 

विजयनगर गाउँपालिकाको सीमा क्षेत्र भएर बग्ने चिरई खोलाको बाढीले सीमा स्तम्भहरु ढलाएको थियो । ढलेका सीमा स्तम्भहरु ५७८।१०, ५७८।७, ५७७।९ र ५७७।७ नम्बरका सहायक सीमा स्तम्भहरु हुन् । 

ढलेका सीमा स्तम्भको अवलोकनका लागि प्रदेश नं. ५ का सशस्त्र प्रहरी प्रमुख डिआईजी नारायणदत्त पौडेल नेतृत्वको टोलीले अनुगमन गरी घटना स्थलको जानकारी लिएको छ । ढलेका सबै सीमा स्थम्भको अनुगमनपछि आफूले सीमास्थलको यथार्थ अवस्था प्रहरी प्रधान कार्यालयमा जानकारी गराइसकेको डीआईजी पौडेलले बताउनु भयो ।  

सीमा स्तम्भ ढलेको एक महिना बितिसक्दा पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढाउँदा सर्वसाधाहरु खुशी छैनन् । सीमा स्तम्भ ढलेको र अलपत्र अवस्थामा देख्दा नमज्जा लागेको स्थानीय बताउँछन् ।

तीन महिनाअघि मात्रै यी सीमा स्तम्भहरु निर्माण गरिएका थिए । खोलामा आउने पानीको बहावलाई आकलन नगरी समान्य गहिराइमै सीमा स्तम्भ निर्माण गरिएका कारण सीमा स्तम्भ ढलेको सीमा सुरक्षा कार्यालय कपिलवस्तुले जनाएको छ । डिजाइन आकलन नै फेल भएका कारण सीमा स्तम्भ ढलेको नेपाल–भारत सीमा सर्वेक्षण टोलीका एक अधिकृतले जानकारी दिए । 

ढलेको सीमा स्तम्भ हेरेर फर्किनु भएका विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले तत्काल सीमा पुननिर्माण कार्य सुरु गर्न नापी विभाग तथा केन्द्र सरकारसँग माग गर्नु भएको छ । ढलेका सीमा स्तम्भहरु लामो समयसम्म पनि पुनर्निर्माण नहुँदा भविष्यमा दुई देशबीच सीमा विवाद उत्पन्न हुन सक्ने गाउँपालिका अध्यक्ष थापाको भनाइ छ ।

ढलेका सीमा स्तम्भहरुमध्ये ५७८।१० र ५७८।७ जोर नम्बरका सीमा स्तम्भहरु नेपालतर्फबाट निर्माण भएको हो । यसैगरी ५७७।९ र ५७७।७ बिजोर नम्बरका सीमा स्तम्भहरु भारततर्फबाट निर्माण गरिएको सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताउनु भयो । 

यस वर्षको बाढीले जिल्लाको अन्य कुनै स्थानमा खासै क्षति नपुर्‍याए पनि सीमा स्तम्भ ढलाएको र यसको बारेमा आवश्यक जानकारी केन्द्रलाई पठाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भन्नुभयो । 

पिलर ढलेको सम्बन्धमा नापी विभागमा जानकारी आएको र चाँडै नै नेपाल–भारत दुई देशका सर्वेक्षण टोलीको अनुगमनको प्रतिवेदनका आधारमा पुननिर्माण कार्य अघि बढाइने नापी विभागका प्रमुख नापी अधिकृत दयानन्द जोशीले बताउनु भयो । 

ढलेका पक्की पिलरहरु प्रतिस्थापन गरी ती स्थानमा अब दुवै देशका नापी सर्वेक्षण टोलीको सहमति अनुसार ३० फिट लामो र १२ इञ्च डायमिटरको फलामे पिलर गाडिने योजना रहेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया