यस्तो छ नेकपाको बदलिएको संरचना

 भदौ २, २०७६ सोमबार १६:४४:७ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार र आइतबार बसेको सचिवालय बैठकले सचिवालय हेरफेरका साथै समीकरणमा समेत फेरबदल गरेको छ ।  

बैठकले झण्डै डेढ वर्षभन्दा बढी समयदेखि अल्झिरहेको पार्टी एकताको बाँकी कामलाई पूर्णता दिएको भए पनि विवादरहित भने बनाउन सकेन । पार्टी एकीकरणको काम टुंगो लगाउँदै गर्दा पछिल्ला बैठकले पार्टीको संरचना थप गर्नुका साथै नेताहरुको वरीयता नै हेरफेर गरेको छ ।  

शुक्रबारको बैठकले पार्टीको संरचनामा उपाध्यक्ष पद थप गर्यो भने आइतबारको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालको वरिष्ठताको वरीयता हेरफेर गरिदिएको छ । 

पार्टी एकीकरण घोषणाका बेला नेपाल बाहिर रहेका खनाल तेस्रो वरीयतामा रहेकोमा आइतबारको बैठकले उहाँको वरीयता दोस्रो बनाएको हो । एकीकरण घोषणाका बेला नेपाल दोस्रो वरीयतामा थिए । 

अब भने माधव नेपालभन्दा अघि खनाल रहनु हुने भएकाे छ। सचिवालयको यो निर्णयमा माधव नेपालले ‘नोट आफ डिसेन्ट’ लेख्नु भएको छ । 

यस्तै शुक्रबारको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी उपाध्यक्षमा वामदेव गौतमको नाम प्रस्ताव गर्नु भएको थियो । बैठकमा दुवै अध्यक्षले पार्टी उपाध्यक्षमा सिफारिस गरेको गौतमको नाममा कसैले विरोध नजनाएको र त्यसलाई अनुमोदनका लागि स्थायी कमिटी बैठकमा लैजाने सहमति भएको थियो । 

पार्टीको विधानमा उपाध्यक्ष पदको परिकल्पना नरहेकाले स्थायी कमिटी बैठकबाटै यसलाई अनुमोदन गराउनु पर्ने छ । 

यसअघि पार्टीमा दुई जना अध्यक्ष, एक जना महासचिव र अन्य सदस्य रहने गरेकोमा स्थायी कमिटीले अनुमोदन गरेपछि भने महासचिवभन्दा अघि एक जना उपाध्यक्ष पनि थपिने छन् । 

यस्तो छ नेकपाको बदलिएको संरचना

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया