चितवनमा भैरहेको प्रदर्शनप्रति नेकपाको आपत्ति : धमिलो पानीमा माछा मार्ने काम भयो

 भदौ २, २०७६ सोमबार १७:२९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चितवनमा भइरहेको प्रदर्शनमा संलग्न नहुन पार्टीका सदस्य, समर्थक तथा शुभेच्छुकलाई निर्देशन दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानको पक्षमा भइरहेको प्रदर्शनले उच्छृंखल रुप लिँदै गएपछि नेकपाले आफ्ना सदस्यलाई प्रदर्शनमा सहभागी नहुन निर्देशन दिएको हो ।

साथै चितवनमा भइरहेको प्रदर्शनमा घटनामा आफ्नो पार्टी नेतृत्वको नामै किटेर प्रदर्शन गरिएको प्रति आपत्ति समेत जनाएको छ । नेकपाको चितवन जिल्ला कमिटीले सोमबार विज्ञप्ति निकालेर प्रदर्शनमा नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको ठहर पनि गरेको छ ।

चितवनमा भइरहेको प्रदर्शनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को योजनामा लामिछानेलाई फसाइएको भन्दै लामिछाने पक्षधरले नाराबाजी गरेका थिए । 
पार्टीका जिल्ला कमिटी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सबै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरूलाई बढावा दिनेगरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन ।’

साथै पत्रकार पुडासैनीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि नेकपा चितवनले माग गरेको छ । निर्दोष नपरुन, दोषी नउम्किउन् भन्ने नेकपा चितवनको पनि चाहना रहेको तर अनुसन्धानलाई नै बाधा पुग्ने गरी भइरहेको हुलहुज्जत तथा अराजक गतिविधि भने कानुनी राज्यको विपरीत भएको ठहर गरेको छ ।

गएको साउन २० गते चितवनको एक होटलमा पत्रकार शालिकराम पुडासैनीको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । उनको साथबाट बरामद भएको मोबाइलमा पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियो फेला परेको थियो ।

भिडियोमा शालिकरामले रवि लामिछानेलगायतले आफूलाई मर्न बाध्य पारेको उल्लेख गरेका थिए ।

नेकपा चितवनकाे विज्ञप्ति हेर्नुहाेस्

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Raju acharya

    Aug. 19, 2019, 6:28 p.m.

    यो सबै नेकपाको योजनामा भएको घटना हो , जहाँ राजा महेन्द्र, नादन भण्डारी जस्ता नेतालाई डुबाउने काम भएको थियो , त्यसै गरि रविलाई नि डुवाउने काम भएको छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया