८० करोड रुपैयाँ नतिरेपछि नेपाल स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज, हेलो नेपाल बन्द

 भदौ २, २०७६ सोमबार १८:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मोबाइल सेवा प्रदायक नेपाल स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज भएको छ ।

हेलो नेपाल नामबाट मोबाइल सेवा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क नबुझाएपछि प्राधिकरणको बोर्ड बैठकले लाइसेन्स खारेज गरिदिएको हो ।

व्यवसायी अजय सुमार्गीको नाममा रहेको कम्पनीले दूरसञ्चार प्राधिकरणलाई बक्यौतास्वरुप ७९ करोड ९२ लाख रुपैयाँ बुझाउन बाँकी छ । कम्पनीको लाइसेन्स खारेज भएसँगै मध्य तथा सूदुर पश्चिम क्षेत्रमा सेवा दिइरहेको हेलो नेपालको सेवा बन्द भएको छ ।

‘हामीले नेपाल स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज गरिदिएका छौं, तर कानुनमा भएको व्यवस्थाअनुसार उहाँहरुले यो निर्णय पुनरावलोकनको लागि ३५ दिनभित्र सरकारलाई निवेदन दिन सक्नुहुन्छ, त्यसपछि सरकारले के गर्छ, त्यसैमा भर पर्छ’, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले उज्यालो अनलाइनसँग भन्नुभयो ।

प्राधिकरणले असार मसान्तसम्म सबै रकम बुझाउन निर्देशन दिए पनि कम्पनी सर्वोच्चमा गएपछि निर्देशन खारेज भएको थियो । तर दूरसञ्चारको बोर्ड बैठकले भदौ १ गतेसम्म पहिलो किस्तामा ७ करोड रुपैयाँ बुझाउन निर्देशन दिएको थियो । तर कम्पनीले रकम नबुझाएपछि लाइसेन्स स्वतः खारेज भएको छ ।

प्राधिकरणले भदौ १ गतेसम्म ७ करोड रुपैयाँ र ३ महिनाभित्र बाँकी ७२ करोड ९२ लाख रुपैयाँ रोयल्टी र नवीकरण शुल्क बुझाउन निर्देशन दिएको थियो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया