अरुण खोलामा रहेको डाइभर्सन बाढीले बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 भदौ २, २०७६ सोमबार २०:५:२ | दयाराम आचार्य
unn.prixa.net

फाइल फाेटाे

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि सडक अवरुद्ध रहेको छ ।

अरुणखोलामा रहेको पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्सन’ आइतबार साँझ बाढीले  बगाएपछि राजमार्ग २४ घण्टादेखि अवरुद्ध भएको हो । आइतबार साँझ आएको बाढीले ‘डाइभर्सन’मा क्षति पुर्‍याएको छ । अहिले पनि खोलामा पानीको मात्र बढी रहेकाले ‘डाइभर्सन’ मर्मतको काम समेत प्रभावित भएको छ ।

यातायात अवरुद्ध हुँदा राजमार्गमा सवारीको लामो लाइन लागेको छ । २४ घण्टादेखि राजमार्ग अवरुद्ध हुदा यात्रुहरुलाई सास्ती भएको छ । ‘डाइभर्सन’ निर्माण गरी यातायात सहज हुन अझै  समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पानीका कारण मर्मतमा समस्या हुँदा यातायात सञ्चालन कतिबेला हुने हो अनिश्चित जस्तै बनेको छ ।

‘डाइभर्सन’ निर्माण भए पनि रोकिएका यातायात वारपार गराउन घण्टौँ समय लाग्ने उहाँले बताउनुभएको छ । उहाँले नारायणगढ–बुटवल खण्ड भएर यात्रा गर्ने यातायातलाई वैकल्पिक बाटो भएर यात्रा गर्नका लागि अनुरोध गर्नुभएको छ ।

काठमाण्डौबाट छुटेका यातायातलाई मुग्लिङ्ग–पोखरा–स्याङ्जा हुँदै बुटवलतर्फ जानका लागि आग्रह गर्नुभएको छ । यस्तै बुटवलबाट पूर्वका लागि छुट्ने सवारीलाई समेत पोखरा हुँदै जानका लागि सम्बन्धित जिल्लाका प्रहरीमार्फत समेत खबर गरिएको उहाँले बताउनुभयो ।

२४ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा झण्डै १० किलोमिटर दुर्वतर्फ सवारीको लाम लागेको छ । प्रहरीले राजमार्ग अवरुद्ध भएको स्थानमा सवारीको  धेरै लाम लाग्ने हुँदा पूर्वबाट आउने यातायातलाई कावासोती र पश्चितर्फबाट आउने यातायातलाई बर्दघाटतर्फ नै रोकिराखेको छ ।

डाइभर्सन मर्मत गरी आजै सञ्चालन गर्न सक्ने सम्भावना कम रहेको छ । पानीको सतह कम हुँदा केही हलुका  सवारी खोलाबाटै आवतजावत गर्ने गरेका छन् ।  साउन २९ गते बुधबार ट्रक पुलमा ठोक्किँदा पुलमा क्षति पुगेको थियो । पुल भाँचिएपछि यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया