संसदमा राँगादेखि ज्योतिषसम्मका कुरा

 भदौ ३, २०७६ मंगलबार १६:३३:२९ | रासस
unn.prixa.net

काठमाण्डाै - भन्सार छलेर काठमाण्डौ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ ।

बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगा भैँसी नेपाल नभित्रिए पनि काठमाण्डौमा मम र   छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, 'वार्षिक रुपमा भारतबाट १० हजारको संख्यामा राँगा, भैँसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैँसी रु ८५६ राजश्व आउँथ्यो,  त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस् ।'

सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इञ्जिनlयर जस्तै ज्योतिषी पेशा सञ्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, 'ज्योतिष पेशा सञ्चालन गर्नेको ठूलो आर्थिक कमाइ भएको हुँदा उनीहरुलाई  राज्यले करको दायराभित्र ल्याउन जरुरी छ, त्यसका लागि पहिले व्यवसाय सञ्चालन गर्न चाहनेका लागि अनुमति पत्रलाई अनिवार्य गर्न आवश्यक छ ।'

सांसद मीनबहादुर विश्वकर्माले लोक सेवा आयोगले पछिल्लो पटक स्थानीय तहका लागि लिएको विज्ञापन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्ने हो भने सरकार संविधानविपरीत हिँडेको तथा नागरिक सरकारलाई संविधानको पालना गर्नुस् भनेर चिच्याइरहेको जस्तो देखिन्छ भन्नुभयो ।

सांसद विना श्रेष्ठले  अविरल वर्षाका कारण देशका कयौँ भागमा पुल र कल्भर्ट बगाउँदा धेरै जनताले आवतजावत गर्न अप्ठ्यारो  परिस्थितिको भोग्नुपरेकाले छिटो ती संरचना पुनःनिर्माण गर्न माग गर्नुभयो ।

सांसद शान्ता चौधरीले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने ढङ्गबाट गरिएको जुलुस र प्रदर्शनीले कानूनी राज्यको उपहास गरिरहेको बताउनुभयो । 

सांसद शान्तिमाया पाख्रिनले  लोक सेवा आयोगको विज्ञापनका बारेमा सरकारको ध्यानाकर्षणका लागि भएको प्रदर्शनीमा प्रहरी हस्तक्षेप भएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सत्यनारायण शर्मा खनालले बर्दघाट–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइन घनाबस्ती क्षेत्रभन्दा बाहिरबाट लाने व्यवस्था गर्न सुझाव दिनुभयो ।

सांसद सरलाकुमारी यादवले देशभर कुकुरको टोकाइबाट बर्सेनि ५० जनाभन्दा बढीको मृत्यु हुनाका साथै चार हजारभन्दा बढी व्यक्तिले रेबिजविरुद्धको खोप लिनुपरिरहेको अवस्थामा भुस्याहा कुकुरको व्यवस्थापन होस् भन्नुभयो ।

सांसद सरिताकुमारी गिरीले तराई–मधेशमा पानीमा भएको आर्सनिकबाट धेरै जनताले विभिन्नखाले रोगसँग लड्नुपरेको हुँदा त्यसलाई नियन्त्रण गर्ने कुनै उपाय छ कि भनी प्रश्न गर्नुभयो ।

सांसद सानु सिवाले नेपाल भ्रमण वर्ष नजिक आइसक्दा समेत नेपालको ठूलो पर्यटनको सम्भावना बोकेको इलाममा विमानस्थल किन सञ्चालन गरिएन भनी प्रश्न गर्नुभयो ।

सांसद सीतादेवी यादवले जनप्रतिनिधिले शून्य समयमा बोलेका कुराको कार्यान्वयनको अवस्था किन शून्य रह्यो भनी प्रश्न गर्नुभयो ।

सांसद सुजाता परियारले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्य सञ्चालन गर्ने संवैधानिक व्यवस्था भए पनि लोकसेवा आयोगले त्यसलाई ‘बेवास्ता गर्दा’ राज्य किन मौन रह्यो भनी चासो व्यक्त गर्नुभयो ।

सांसद हितबहादुर तामाङले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा कानूनी राज्यको उपहास गर्ने ढङ्गबाट गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक छ भन्नुभयो ।

सांसद हीरा गुरुङले लोकसेवा आयोगको विज्ञापनसँग जोडेर संविधानले आरक्षण गरेको विषयलाई संवैधानिक अङ्गबाटै किन बेवास्ता गरिएको भनी प्रश्न गर्नुभयो ।

सांसद बहादुरसिंह लामाले बाढी पहिराेबाट भत्किएका पुल र सडक कहिलेसम्म बन्छ भनी प्रश्न गर्नुभयो ।

अन्तिम अपडेट: भदौ ८, २०७६

तपाईको प्रतिक्रिया