प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणको लागि बिहीबार सिंगापुर जाने

 भदौ ४, २०७६ बुधबार ७:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार फेरि सिंगापुर जानु हुनेभएको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेको बताउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

‘डाक्टरहरुको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लाग्नुभएको हो’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य छ ।’ बैठकमा उपस्थित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।

यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराइ साउन २७ गते स्वदेश फर्कनुभएको थियो । त्यतिबेला नै डाक्टरहरुले नयाँ औषधि चलाएर हेर्नुपर्ने बताएका थिए । तर ओलीले देशमा राजनीतिक व्यवस्थापन गर्नुपर्ने भन्दै छिटै उपचारमा फर्किने वचन दिएर डाक्टरसँग बिदा हुनुभएको र डाक्टरले दिएको सल्लाहअनुसार नै उहाँ फेरि स्वास्थ्य परीक्षणको लागि जान लाग्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पनि डाक्टरहरुको परामर्शकै आधारमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जान लाग्नुभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री यादवले प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टरहरुकै सल्लाहमा उहाँको सिंगापुरमा उपचार गर्न लागिएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया