भारतीय विदेश मन्त्री एस. जयशंकर काठमाण्डौमा

 भदौ ४, २०७६ बुधबार १२:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय विदेश मन्त्री डाक्टर सुव्रमण्यम(एस) जयशंकर काठमाण्डौ आइपुग्नु भएको छ ।

बुधबारदेखि काठमाण्डौमा सुरु हुने नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उहाँ नेपाल आउनु भएको हो ।

भारतीय विदेश मन्त्री जयंशकरलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले स्वागत गर्नु भएको थियो । विमानस्थलमा भारतीय विदेश मन्त्रीलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पनि पुग्नु भएको थियो ।

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार दोस्रो कार्यकालका लागि गठन भएपछि भारतीय विदेश मन्त्रीको यो पहिलो नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्री एस जयशंकरले दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् ।

संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ । राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुने कार्यसूची छ ।

यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ ।

बैठकको सुरुमै केही नयाँ समझदारीमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया