ऐतिहासिक तथा मल्लकालीन नृसिंह जात्रा सम्पन्न

 भदौ ४, २०७६ बुधबार १३:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरका मल्लकालीन राजा सिद्धिनरसिहंको पालादेखि सञ्चालन हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा मंगलबार सम्पन्न भएको छ । 

पाटनको स्वनिम्ह टोलको हनुमान ननीमा नृसिंहलाई विशेष तान्त्रिक पूजा गरेपछि सुरु भएको यात्रा पाटनका विभिन्न ठाँउमा परिक्रमा गरेपछि पुनः स्वनिम्ह पुगेर मंगलबार बेलुका समापन भएको हो । 

ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा सञ्चालन गर्ने गर्दछन् । यसपटक स्वनिम्हका हेरम्बराज राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको थियो । 

नृसिहं जात्राको क्रममा बाजा–गाजा, प्रत्यक्ष भजनसहित नृसिहंसहित लक्ष्मी, सरस्वती, विष्णुभक्त प्रल्हादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । 

कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिहं मानिन्छ भने भदौमा निस्कने नृसिहंलाई शान्त स्वभावको रुपमा लिइन्छ । नेपाल सम्वत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भैरहेको लिखित दस्तावेज छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया