एभीसी सेन्ट्रल जाेन पुरुष भलिबल प्रतियाेगिता : नेपाल बाहिरियाे

 भदौ ४, २०७६ बुधबार १९:१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपाल माल्दिभ्ससँग हारेसँगै प्रतियोगिताबाट बाहिरिएको छ । घरेलु कोर्टमा कुनै न कुनै पदकको आशा गरेको नेपाल समूह 'ए' का दुवै खेलमा सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

पहिलो खेलमा किर्गिजस्तानसँग ३–० ले हारेको नेपाल बुधबार लगनखेलमा रहेको आर्मीको कोर्टमा माल्दिभ्सविरुद्ध पनि ३–० को सेटमा पराजित भयो । पहिलो खेलमा किर्गिजस्तान नेपालभन्दा बलियो टिम भए पनि माल्दिभ्सलाई हराउने अपेक्षा गरिएको थियो । 

तर नेपाली खेलाडीमा तालमेलको निकै ठूलो समस्या देखियो । आफ्नो स्तरको माल्दिभ्सविरुद्धको पहिलो सेटमा नेपालको रिसिभिङ निकै कमजोर देखियो । जसका कारण नेपालले पहिलो सेट २२–२५ ले गुमायो ।

दोस्रो सेटमा नेपालले सुरुवातमा माल्दिभ्सलाई केही दबाबमा राखेको थियो । जसका कारण एक समय नेपालले ५–१ अंकको अग्रता बनाएको थियो । तर नेपालको सटहरु ब्लक भएर बाहिरिने र रिसिभिङमा पनि कमजोरी हुँदा खेलको बीचमा माल्दिभ्ससँग १६–१३ ले पछि परेको थियो ।

माल्दिभ्सले दोस्रो सेटमा २० अंक बनाउँदा नेपाल तीन अंकले पछि परेको थियो । त्यसपछि नेपाल सेटमा फर्कन सकेन र २५–२१ ले हार्न पुग्यो ।

तेस्रो सेटमा भने नेपाल माल्दिभ्सविरुद्ध पूर्णरुपमा दबाबमा आयो । खेलाडीमा आत्मविश्वासको ठूलो कमी देखिएको थियो । जसको असर स्कोरबोर्डमा पनि देखियो । माल्दिभ्सले नेपालविरुद्ध तेस्रो सेटको बीचमा आठ अंकको अग्रता बनाएको थियो । नेपालको स्कोर १२ हुँदा उसको २० अंक रहेको थियो । 

अन्नतः नेपाल २५–१४ ले पराजित हुन पुग्यो । यो जितसँगै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया