सामुदायिक विद्यालयमा विद्यार्थी नै छैनन्

 भदौ ५, २०७६ बिहिबार १२:४९:२९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – दशरथचन्द नगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको अभाव भएको छ । दशरथचन्द नगरपालिका–१० मा रहेको ज्ञानेश्वर आधारभुत विद्यालयमा शून्य विद्यार्थी भएपछि विद्यालयका तीन जना शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिएको छ भने विद्यालय बन्द गरिएको छ ।

दशरथचन्द नगरपालिका–१० कै शान्ति आधारभूत विद्यालयमा एक जना पनि विद्यर्थी नभएपछि बन्द गरिएको छ । दशरथचन्द नगरपालिका–६ को जगन्नाथ आधारभूत विद्यालय नगतडीमा पनि ८ जना मात्रै विद्यार्थी भर्ना भएका छन् । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा तीन जना शिक्षक कार्यरत छन् ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै गएपछि सामुदायिक विद्यालय प्रतिको आकर्षण घट्दै गएको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।

दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरा आधारभुत विद्यालय कोटमा १७ जना विद्यार्थी भर्ना भएका छन् भने ३ जना शिक्षक कार्यरत छन् । यस्तै, नगरपालिका भित्रको ईश्वर आधारभूत विद्यालयमा १८ जना विद्यार्थी छन् भने १२ जना शिक्षक कार्यरत रहेका छन् । जगन्नाथ आधारभुत विद्यालयमा २९ जना विद्यार्थी छन् भने ४ जना शिक्षक कार्यरत रहेका छन् ।

दशरथचन्द नगरपालिकामा १० भन्दा बढी आधारभुत विद्यालयहरु विद्यार्थीको अभाव झेल्दै आएका नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताउनुभयो । सामुदायिक विद्यालयको व्यवस्थापनमै केही कमजोरी भएका कारण विद्यार्थीको आकर्षण घटेको संयोजक नाथ बताउनुहुन्छ ।

कम विद्यार्थी भएका विद्यालयलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरेको भए पनि कानुनी जटिलताले गर्न सकिने अवस्था नरहेको शिक्षा संयोजक नाथले बताउनुभयो ।

जिल्ला शिक्षा समितिले पनि विद्यालय मर्जबारे त्यस्तो नीति बनाउन सकेको छैन । संघीय शिक्षा ऐन नै नआएका कारण अहिले नै मर्जका विषयमा केही गर्न नसकिने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया