प्रियंका चोपडालाई युनिसेफको सद्भावना दूतको पदबाट हटाउन पाकिस्तानको माग

 भदौ ५, २०७६ बिहिबार १५:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानकी मानव अधिकार आयोगकी मन्त्री शिरीन मजारीले बलिउड अभिनेत्री प्रियंका चोपडालाई युनिसेफ (संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष) को सद्भावना दूतको पदबाट हटाउन माग गरेकी छिन् । 

यूएनका लागि लेखेको चिठ्ठी उनले सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छिन् । मन्त्री मजारीले चिठ्ठीमा कश्मीरमा धारा ३७० हटाइएकोबारे विरोध गर्दै भारतीय सरकारको नीति, नियम र भारतीय सेनाको पनि आलोचन गरेकी छिन् ।

साथै प्रियंका चोपडाले भारतीय सरकार र सेनाले पाकिस्तानविरुद्ध उठाएका कदमको समर्थन गर्ने गरेकाले उनलाई पदबाट हटाइनु पर्ने माग गरिएको छ । 

चिठ्ठीमा लेखिएको छ, ‘प्रियंका चोपडा खुलेर कश्मीरको विषयमा भारत सरकारको समर्थन गर्छिन् र भारतका रक्षा मन्त्रीले पाकिस्तानलाई परमाणु आक्रमण गर्ने धम्की दिएका बेला प्रियंकाले उनको समर्थन गरेकी थिइन् । जुन कुरा युनिसेफको सद्भावना दूतले शान्ति र दयाभाव फैलाउनु पर्नेे सिद्धान्तको विपरीत हो । यदि प्रियंका चोपडालाई तुरुन्तै पदबाट नहटाइए युनिसेफको शान्तिको लागि सद्भावना दूतको सोच हास्यको विषय बन्न सक्छ ।’

केही दिनअघि प्रियंका चोपडाको एउटा भिडियो सार्वजनिक भएको थियो । त्यो भिडियोमा अमेरिकामा आयोजित एउटा कार्यक्रममा एक पाकिस्तानी महिलाले प्रियंकामाथि युद्धलाई समर्थन गरेको आरोप लगाएकी थिइन् । 

ती महिलाले भनेकी थिइन्, ‘तपाईँ युनिसेफको सद्भावना दूत हो र तपाईँले नै पाकिस्तानविरुद्ध परमाणु युद्धलाई समर्थन गरिरहनु भएको छ । जबकि म लगायत करोडौँ पाकिस्तानीहरु तपाईँका चलचित्र हेर्छौँ, तपाईँको समर्थन गर्छौँ ।’ 

पछि ती महिलाले आफ्नो सामाजिक सञ्जाल मार्फत पनि प्रियंका चोपडालाई युनिसेफको सद्भावना दूतको पदबाट हटाइनु पर्ने भन्दै खुला पत्र लेखेकी थिइन् । 

सन् २०१९ को फेब्रुअरीमा पुलवामा क्षेत्रमा हमलापछि पाकिस्तान र भारतबीचको तनावको समयमा प्रियंकाले भारतीय सेनाको समर्थन गर्दै जय हिन्द लेखेर एउटा ट्वीट पोस्ट गरेकी थिइन् । प्रियंकाको त्यही ट्वीटलाई लिएर पाकिस्तानीहरुले प्रियंकाको विरोध गरेका हुन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया