रोजगार बैंक स्थापनापछि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हट्यो

 भदौ ५, २०७६ बिहिबार १८:११:३५ | रासस
unn.prixa.net

कालिकोट - रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत र अरु देश जाने यहाँका बासिन्दाले गाउँमै रोजगारी पाउन थालेका छन् । नगरपालिकाले बेरोजगारलाई गाउँमा नै रोजगारी दिने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरेर रोजगारका अवसर उपलब्ध गराएकाले भारत जानेहरु गाउँमा रोजगार बन्न थालेका हुन् ।

नगरपालिकाले गाउँमै  बैंक स्थापना गरेपछि भारतमा रोजगारी गर्ने दिनको अन्त्य भएको वडा नं–२ का चन्द्र सिम्खडाले बताउनुभयो । “म १२ वर्षको उमेरदेखि भारतको नैनीतालमा मजदूरी गर्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “भारतमा गएर काम गर्दा धेरै दुःख हुन्थ्यो । जति काम गरे पनि घरमा आउँदा परिवारका लागि लुगाफाटो पु¥याउन पनि मुस्किल हुन्थ्यो ।”

रोजगारीका लागि मलेसिया पुगेर पाँच वर्षसम्म  काम गरेका त्यही नगरपालिका–१ का हिक्मत न्यौपानेले गाउँमै रोजगारी पाइएकाले अब मलेसिया नजाने बताउनुभयो । “पाँच वर्ष  मलेसिया बसेँ । मलेसिया बस्दा न पैसा कमाउन सकेँ नत सुख नै पाए”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाले रोजगार बैंकमार्फत काम दिन थालेपछि विदेशमा गरिएको दुःखभन्दा  घर नजिकै काम पाउँदा साह्रै खुशी लागेको छ ।”

गाउँमै रोजगारी पाउन थालेपछि स्थानीय बेरोजगार पनि खुशी हुन थालेका नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंंह बमले बताउनुभयो । “अहिले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “घर नजिकै रोजगारी पाइएको छ । गाउँमा नै काम गरेर स्थानीयवासी रोजगार हुन थालेका छन् ।”

नगरपालिकाले बेरोजगारी युवायुवतीहरुलाई रोजगार बनाउने उद्देश्यले स्थापना गरेको श्रम रोजगार बैंकमार्फत २ सय ६० जनाले  गाउँमै रोजगारी पाएकाले कामको प्रभावकारितासमेत बढ्दै गएको नगरप्रमुख काशीचन्द्र बरालले बताउनुभयो । उहाँले भन्नभयो, “अझै यो कार्यक्रम प्रभावकारी हुँदै गएमा थपलाई रोजगारी दिन नयाँ कार्यक्रम ल्याउने योजना छ ।”

बैंकमार्फत गाउँको विकासका लागि ग्रामीण सडक, धारा, पुलपुलेसा, पोखरी निर्माण गरेर विकाससँगै रोजगार हुन थालेको उक्त बैंकका अध्यक्ष पदमबहादुर खड्काले बताउनुभयो । “हामीले श्रम रोजगार बैंक स्थापना गर्दा धेरैले हाँसोका रुपमा लिए”, उहाँले भन्नुभयो, “अहिले गाउँमै रोजगारी हुँदा धेरै मानिस खुशी भएका छन् ।”
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया