इन्टरनेटमार्फत खुशीयाली फैलाउने अभियानमा अनुष्का शर्मा

 भदौ ६, २०७६ शुक्रबार १६:२०:९ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेत्री अनुष्का शर्मा चलचित्र निर्माता, पशु अधिकारकर्मी र व्यवसायी पनि हुन् ।

उनी आफूमा भएको सकारात्मक विचारको प्रयोग गर्दै सामाजिक सञ्जालमा खुशी फैलाउने काममा लागेकी छिन् । अनुष्काले सामाजिक सञ्जालमार्फत एक भिडियो पोस्ट गरेकी छिन् । त्यस भिडियोमा उनी सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका सकारात्मक कमेन्टहरु पढिरहेकी छिन् । भिडियोसँगै उनले ‘इन्टरनेटमा अब सकारात्मक कुराको समय’ लेख्दै ह्यासट्याग ‘ह्याप्पी ट्वीट’ र ह्यास ट्याग ‘लभ एण्ड लाइट प्रोजेक्ट’ लेखेकी छिन् ।

दैनिक जीवनमा इन्टरनेटको बढ्दो प्रयोगसँगै यसका नकारात्मक असरहरु पनि देखिन थालेका छन् । सामाजिक सञ्जालमा पोस्ट हुने तस्बिर र स्टाटसहरुमा हुने नकारात्मक टिप्पणी र त्यसमा गरिने कमेन्टमा लेखिने गालीहरुले सामाजिक सञ्जालमा नकारात्मकता फैलाइरहेको छ  । यसै विषयमा अभिनेत्री अनुष्का शर्माले ‘लभ एण्ड लाइट’ नामक एक नयाँ प्रोजेक्ट सुरु गरेकी छिन् ।

जसअन्तर्गत इन्टरनेटलाई सकारात्मक ऊर्जाको स्रोतको माध्यम बनाउन सकियोस् । अनुष्काका अनुसार जुन मोबाइल फोनलाई हामी आफ्नो हातबाट कहिल्यै टाढा नहोस् भन्ने चाहन्छौँ, त्यसको माध्यमबाट हामी आफ्नो वरिपरिको दुनियाँमा एक छुट्टै किसिमको खुशीयाली पनि ल्याउन सक्छौँ ।

अनुष्कालाई उनको यस नयाँ प्रयासका विषयमा सोध्दा भनिन्, ‘डिजिटल मिडियाका कैयौँ फाइदाहरु छन् । यसले संसारलाई धेरै नजिक ल्याइदिएको छ र यसले हामीलाई समान विचारधारा भएका मानिसहरुसँग जोड्ने र असल विचारधारा भएका समूहको रचना गर्न एक सुन्दर मौका प्रदान गराउँदछ । जब केही मानिस इन्टरनेटलाई घृणा फैलाउनका लागि प्रयोग गरिरहेका छन् भने जीवनलाई सकारात्मक रुपमा देख्ने मानिसले पनि त्यसको विरोधमा खुलेर अगाडि आउनु पर्छ ।’

अनुष्काले अगाडि भनिन्, ‘सामाजिक सञ्जालमा युवा, संस्कृति र समाजलाई प्रभावित गर्नसक्ने शक्ति छ र यदि हामी सकारात्मक कुराहरुलाई अघि बढायौँ भने यसले समाजमा रचनात्मक भूमिका खेल्छ । आफूसँग अरुलाई पनि साथमा जोड्ने पहल, नयाँ सम्बन्धहरु बनाउनतर्फ जोड र हाम्रो वरिपरि रहेका मानिसप्रति कृतज्ञता र सम्मानको भावना आदि जस्ता कुराहरु सामाजिक सञ्जालमाफर्त गर्न आवश्यक छ । ‘लभ एण्ड लाइट’ एकअर्कालाई रचनात्मक तरिकाले  मानवीय रुपमा जोड्ने सामाजिक प्रयोग हो ।’

अनुष्काका अनुसार हामीले दिनमा एक अन्जान व्यक्तिको अनुहारमा मुस्कान ल्याउन सक्यौँ भने समाजलाई स्वस्थ, सहज र सुन्दर बनाउन सहयोग पुग्नेछ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया