एक वर्षपछि विराटनगर डिग्री क्याम्पसको ताला खुल्यो

 भदौ ६, २०७६ शुक्रबार १५:१९:६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – एक वर्षदेखि तालाबन्दी रहेको विराटनगरको स्नातकोत्तर(डिग्री) क्याम्पसको ताला खुलेको छ ।

महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्री क्याम्पस प्रमुखमा नियुक्त भएर आएपछि आन्दोलित स्नातकोत्तर क्याम्पसका प्राध्यापकहरुले गरेको तालाबन्दी खुलेको हो । गएको साउन २ गते संवाद समूह मोरङमा भएको संवादमा ताला खुलाउने बारेमा सर्वपक्षीय छलफल भएको थियो । संवादमा प्राज्ञिक क्षेत्र विभाजित हुन नहुने, शैक्षिक क्षेत्रलाई बन्दी बनाउने काम रोक्न सबैले पहल थाल्ने निर्णय भएको थियो ।

त्यस्तै  क्याम्पस प्रमुख महेश खत्रीलाई सहयोग गरेर जानुको विकल्प नरहेकोले क्याम्पस प्रमुखले आगामी दिनको योजना निर्माण गरी कर्मचारी, प्राध्यापकहरुबीचमा   बैठक बोलाउन पत्र लेख्ने, प्रमुखले बैठक बोलाएर वातावरण सहज बनाउने र क्याम्पसको तालाखोल्न प्राध्यापकले भूमिका खेल्ने निर्र्णय भएको थियो ।

सबैले आफ्नो क्षेत्रको कमीकमजोरीलाई स्वीकार गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताएका थिए । तत्काल देखिएको विवाद क्याम्पसबाट नै समाधानको पहल गर्ने र दलको तर्फबाट सहजीकरण गर्नका लागि तयार रहेकोले केही दिनभित्रै ताला खोल्न पहल थाल्न सबै सहमत भएको एक महिनापछि ताला खुलेको हो ।

संवादपछि  क्याम्पस प्रमुख खत्रीले प्राध्यापकहरुसँग छलफल थाल्नु भएको थियो । प्राध्यापक संघले पनि इकाई कमिटीको बैठकपछि  ताला खोल्ने निर्णय भएपछि शुक्रबार ताला खोलिएको प्राध्यापक संघ डिग्री क्यापस इकाई सभापति टुनाराज भट्टराईले जानकारी दिनुभयो ।

यस्तो थियो तालाबन्दीको कारण

विराटनगर महानगरपालिका– १४ मा रहेको स्नातकोत्तर (डिग्री) क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिको बिषयलाई लिएर गएको भदौमा प्रमुखको कार्यकक्षमा तालाबन्दी थियो ।  कार्यकक्षमै तालाबन्दी गरिएपछि भदौ २६ गते त्रिविबाट नियुक्ति लिएर २७ गते पदभार ग्रहण गर्न आएका नवनियुक्त क्याम्पस प्रमुख महेश खत्री कार्यकक्ष बाहिरैबाट कार्यसम्पादन गर्दै आउनु भएको थियो । तालाबन्दीले पठनपाठनसँगै प्रशासनिक काम प्रभावित भयो ।

नियमविपरीत अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापकसम्बद्ध संघसंगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरे ।

महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्रीलाई नियमविपरीत त्रिविले क्याम्पस प्रमुखमा नियुक्त गरेको विरोधमा तालाबन्दी गरिएको प्राध्यापक संघ संगठनले आरोप लगाउँदै आएका थिए ।

वरिष्ठताको आधारमा क्याम्पसभित्रकै  प्राध्यापकमध्येबाट क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने नियम रहे पनि राजनीतिक भागबण्डाका कारण अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको प्राध्यापकहरुको आरोप थियो ।

भागबण्डामा नियुक्त भएका खत्रीलाई ल्याउनभन्दा पहिला कृष्ण वस्तीलाई क्याम्पस प्रमुख बनाइने भनिएको र उहाँलाई प्रमुख नबनाइ खत्री ल्याइएपछि प्राध्यापक आक्रोशित भए । प्राध्यापक संघ इकाईको निर्णयबाट नै तालाबन्दी भएको थियो । 

अन्तिम अपडेट: चैत ५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया