लाहुरे बन्ने माैका त्यागेका डम्बरबहादुरको बुढेसकालको सहारा, गाईगोठ र भकारा

 भदौ ६, २०७६ शुक्रबार १६:८:४९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – शीरमा ढाकाटोपी, घाँटीमा गलबन्दी, जिउमा टि–सर्ट, सर्ट र आस्कोट । खुट्टामा पाइन्ट र जुत्ता अनि हातमा घडी । कपाल सेतै फुलिसक्यो, दाँत झरिसके, अनुहार चाउरी परिसक्याे । यस्सो हेर्दा घरमै आराम गरेर बस्नुपर्ने हो, तर गोठमै बास हुन्छ डम्बरबहादुर बुढाकाे ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुना दरका ७६ वर्षीय डम्बरबहादुर बुढा अझै वस्तुभाउलाई घाँस काट्ने र उनीहरुको रेखदेखमै समय बिताउनुहुन्छ । बिहान उठेदेखि बेलुका नसुतेसम्म उहाँ भैँसी र गोरुको भकारा सोहोर्ने, कुँडोफाँडो खुवाउने र घाँस काटेर हाल्ने काममै व्यस्त हुनुहुन्छ । घरदेखि केही पर बारीमा गोठ बनाउनुभएको छ उहाँले । गोरु र भैंसी बाँध्ने गोठमै उहाँको बास हुन्छ । 

ज्यान र उमेरले बुढोपाको देखिए पनि उहाँ भैँसी र गोरुका लागि युवाले जस्तै दैनिकजसो काममा खटिनुहुन्छ । किसान परिवारमा जन्मिनुभएका बुढाले सानै उमेरदेखि कृषि, खेतीपाती, भैँसी, गोठ, भकारोमै ध्यान गएको बताउनुभयो । बुढेसकाल लागे पनि आफूले सकेको काम गर्दै आएको उहाँ बताउनुहुन्छ ।

उमेरले चार बीसको नजिक पुगेका डम्बरबहादुर बुढा अझै पनि वनजङ्गलमा पुगेर घाँस, दाउरा र स्याउला काटेर ल्याउने गर्नुहुन्छ । उहाँले घाँस, दाउरा, स्याउला काट्ने र ल्याउने मात्रै नभइ गाईभैँसी तथा गोरु बाँध्नका लागि दाम्लासमेत बाट्ने गर्नुभएकाे छ। 

आफू युवा हुँदा १०-१२ ओटासम्म भैँसी पालेको बताउँदै बुढाले अहिले गोठमा एउटा मात्र भैंसी रहेको बताउनुभयो । युवावस्थामा ३०-३२ ओटासम्म गाई चराउनुभएका उहाँले अहिले गोठमा जम्मा ३ ओटा गाई र २ वटा (एकहल) गोरु पाल्नुभएको छ । उहाँको काममा घरमा रहेका छोरा र बुहारीले पनि सघाउँदै आएका छन् ।

उमेरमा धेरै गाईभैँसी पालेको सम्झना गर्दै अहिले बुढेसकाल लागेपछि पाल्न नसकेको उहाँले दुःखेसो पोख्नुुभयो । पहिलेको समयमा खेतबारीमा मल हाल्नका लागि धेरै गाईभैँसी र खेत जोत्न गोरु पाल्ने गरे पनि अहिलेका मानिसहरुले गाई भैँसीपालन गर्न छाडेको उहाँको भनाइ छ । खेत जोत्न ट्याक्टर आएपछि गाई र गोरु पाल्न छाडेको उहाँकाे बुझाइ छ । 

तीन छोरा र चार छोरीका बावु बुढा आफू भने बाबुआमाको एक मात्र सन्तान हुनुहुन्छ । भारत र बेलायतका पल्टनका लागि भर्ती गराउन गल्ला आए पनि आफू नगएको उहाँले बताउनुभयाे । पहिलेको समयमा भारत बेलायतमा भर्ती गराउनका लागि भन्दै युवाहरु खोज्न गल्लाहरु नेपालको विभिन्न जिल्लाको गाउँगाउँसम्म पुग्ने गर्दथे ।

उतिबेला भारत र बेलायतबाट पल्टनका लागि गाउँमा भर्ती लिन ताकम कोतमा गल्ला आउने गरेको उहाँले स्मरण गर्नुभयाे । तर,गल्ला घरमै आउँदा पनि आफू भने भर्ती हुन नगएको उहाँले सुनाउनुभयो । भर्ती हुन र लाहुरे हुन नगइ गाउँमै बसेर खेतीपाती गरेर जीवन बिताएकाे उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत ३०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया