चीनले ७५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा शुल्क बढाउने

 भदौ ७, २०७६ शनिबार ११:३६:४९ | एजेन्सी
unn.prixa.net

चीन र अमेरिकाबीच जारी व्यापार युद्ध झन् बल्झिने देखिएको छ । जवाफी कारबाही गर्दै चीनले ७५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा शुल्क बढाउने घोषणा गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ७५ अर्ब डलरको अमेरिकी उत्पादनमा ५ देखि १० प्रतिशतसम्म शुल्क बढाउने घोषणा गरेको हो । जुन आउँदो सेप्टेम्बर १ र डिसेम्बर १५ बाट लागू हुनेछ । 

चीनले शुक्रबार सोयाबिन्स, बदाम लगायत ५ हजार ७८ प्रकारका अमेरिकी उत्पादनमा शुल्क बढाउने घोषणा गरेको हो ।  यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा आयात शुल्क बढाउने संकेत दिएका थिए । 

अमेरिका र चीनबीच गएको एक सालदेखि व्यापार युद्ध चलिरहेको छ, जसको सोझो असर विश्वको अर्थतन्त्रमा देखिएको छ । विश्वको प्रमुख अर्थव्यवस्थाहरु मन्दीको संघारमा पुगेका छन् । 

यदि यी दुई देशबीच जारी व्यापार युद्ध सन् २०२१ सम्म रहने हो भने अमेरिकी अर्थव्यवस्था मन्दीको चपेटामा आउनसक्ने बताइएको छ । 

अमेरिकी अधिकारीहरुले भने आउँदो महिना चीनसँगको व्यापार वार्तामा आमने सामने हुने बताएका थिए । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया