के एक दिवसीय र टी–२० पछि अश्विनको टेस्ट करियर पनि खतरामा छ?

 भदौ ७, २०७६ शनिबार १९:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

एन्टिगुआ टेस्ट प्लेइंग ११ मा रविचन्द्रन अश्विन नपर्नु अहिले भारतीय क्रिकेटको सबैभन्दा चर्चित समाचार हो । यो विषयलाई अझ तताउन पूर्व कप्तान र दिग्गज क्रिकेटर सुनील गाभस्करको भूमिका महत्वपूर्ण छ । 

टेस्टको पहिलो दिन जब प्लेइंग ११ को घोषणा भयो तब गाभस्कर नै कमेन्ट्री गरिरहेका थिए । अश्विनलाई प्लेइंग ११ बाट बाहिर राख्ने फैसला निकै हैरानपूर्ण भएको बताएका थिए । 

वेस्ट इण्डिजविरुद्ध राम्रो रेकर्ड बनाउनेलाई नै टिम बाहिर राखिनु निकै आश्चर्यपूर्ण भएको गाभस्करले बताएका थिए । त्यसपछि सञ्चारमाध्यमलाई समाचार शीर्षक पनि मिल्यो ।  

समाचार शीर्षकभन्दा पनि अश्विनको भारतीय क्रिकेटमा भविष्य के छ ? यो नै ठूलो प्रश्न हो । सामान्यतया यदि कुनै सिनियर खेलाडीलाई टिममा स्थान दिइन्छ भने उसलाई प्लेइंग ११ मा पनि मौका दिइनु पर्छ ।

रोहित शर्माले अझै टेस्ट क्रिकेटमा आफूलाई सावित गर्न बाँकी रहेकोले उनलाई स्थान नदिइएको हो । यता रविचन्द्रन अश्विनलाई टिममा बोलाएर प्लेइंग ११ मा नराख्नु भनेको अब अश्विन भारतीय टिमको तेस्रो स्पिनर हुन् । 

यसो त प्लेइंग ११ मा परेका खेलाडीहरु कप्तानको भरोसमा खरोरुपमा उत्रनुपर्छ । तर कप्तानको स्पिनरमाथि भरोसा सबैभन्दा महत्वपूर्ण हुने गर्दछ । 
केही समयअघिको कुरालाई याद गरौँ । धोनीले हरभजन सिंहलाई हटाएर रविचन्द्रन अश्विनलाई टिममा स्थान दिएका थिए । अश्विनमाथि धोनीको भरोसा कमालको थियो । अश्विनको सफलताको ठूलो पक्ष यही हो । 

तर जब विराट कोहीले कप्तानी सम्हाले तब अश्विनको स्थिति बिस्तारै कमजोर हुँदै गयो । अझ थोरै पछाडि जाँदा कप्तान सौरभ गांगुलीको पहिलो रोजाइमा हरभजन सिंह हुने गर्दथे । यता राहुल द्रविडले अनिल कुम्बले र मुरली कार्तिक जस्ता बलरलाई मौका दिए । 

अब कुरा गरौँ जारी टेस्ट म्याचको । वेस्ट इण्डिजका बायाँ हाते ब्याट्सम्यानको उल्लेख्य उपस्थिति रहेको छ । यस्तो अवस्थामा अश्विनको नाम पक्का मानिएको थियो । किनकि बायाँ हाते ब्याट्सम्यानका लागि भित्रतर्फ स्पिन भएको बल खेल्न सहज हुन्छ । तर विराट कोहलीले रवीन्द्र जडेजालाई मौका दिए । यसबाट यो प्रस्ट हुन्छ कि अब भारतीय टेस्ट क्रिकेटमा अश्विनको नाम रवीन्द्र जडेजा र कुलदीप यादवपछि आउँछ । 

अश्विनको देश बाहिरको प्रदर्शन औसत छ तर वेस्ट इण्डिजविरुद्ध उनको आँकडा उत्कृष्ट छ । अश्विनले वेस्ट इण्डिजविरुद्धको ११ ओटा टेस्टमा ६० विकेट लिएका छन् । पछिल्लो पटक अश्विन सन् (२०१६/०१७) मा वेस्ट इण्डिजविरुद्ध मैदानमा उत्रँदा तीन खेलमा १७ विकेट र ३५० रन बनाउँदै म्यान अफ द सिरिज बनेका थिए । 

अश्विनको टेस्ट करियरको कुरा गर्दा ६५ खेलमा २५ दशमलव ४३ को औसतमा ३४२ विकेट हात पार्दा २९ दशमलव १४ को औसतमा २३६१ रन बनाएका छन् । त्यस्तै उनी सबैभन्दा छिटो २५० र ३०० विकेट लिने खेलाडी पनि हुन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया