‘गौरा’मय बन्यो सुदूर पश्चिम प्रदेश

 भदौ ७, २०७६ शनिबार १४:१६:२८ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेश अहिले गौरामय भएको छ । सुदूर पश्चिमेलीहरुको महान पर्व गौराको रौनक सुदूरपश्चिममा दिनानुदिन बढ्दै गएको छ । 

गौरा पर्वको अवसरमा यहाँका मुख्य बजार तथा ग्रामीण क्षेत्रहरुमा स्थानीवासीको चहलपहल बढेको छ भने गाउँघरमा बिहीबार गौरा भित्र्याएसँगै गौरासम्बन्धी खेल तथा सुदूर पश्चिमको प्रसिद्ध खेल देउडा प्रतियोगिता भैरहेका छन् । 

गौरा पर्वकै लागि विदेश गएका डोटेलीहरु पनि आ–आफ्नो घर फर्किएकाले पनि गाउँमा गौराको रौनक बढेको जोरायल गाउँपालिका-३ की स्थानीय तथा सामाजिक परिचालिका लक्ष्मी ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘काम विशेषले घर बाहिर रहेका तथा धन कमाउन परदेश गएकाहरु पनि अहिले घर फर्किएका छन्, गाउँमा चहलपहल दशैँभन्दा कम छैन ।’

अघिपछि घरधन्दामा मात्र व्यस्त देखिने सुदूरपश्चिमका अधिकांश गृहिणी महिलाहरुलाई गौरा पर्वले फुर्सदिलो बनाएको डोटी गोगनपानीकी पवित्रा खत्रीले बताउनु भयो । ‘सधैँ घरकै काममा मात्र व्यस्त हुने यहाँका महिलाहरु गौरा पर्व सुरु भएपछि फुर्सदिला भएका छन्, बिहान काम गर्छन् र साँझ देउडा खेल्न व्यस्त हुन्छन् ।’ 

गौरा खेल तथा देउडा खेल्नमा धेरैजसो महिला सहभागिता बढी रहने गरेको दिपायल सिलगढी नगरपालिका-३ का स्थानीय घनश्याम पाठकले बताउनु भयो । 

गौरा पर्वका बेला पुराना धार्मिक क्रियाकलाप, देवी देवताका लीला तथा राजा र प्रजाका घटनामा आधारित कथाहरुलाई गीतका माध्यमबाट देउडा खेलिन्छ । ‘गौरामा पुराना बितेका कालका घटनामा आधारित घटनालाई गीत बनाएर देउडा खेलिने भएकाले यसको महत्व र खेलको राैनक नै अर्कै हुन्छ’, जोरायल गाउँपालिका-५ का वडाअध्यक्ष तथा गितारु (गौरासम्बन्धी गीत हाल्ने) ध्वजबहादुर देउवाले भन्नुभयो ।

बजारमा हुने आधुनिक किसिमका देउडा खेल तथा नाचले सुदूरपश्चिमको गौरा पर्वको मौलिकता बिस्तारै हराउँदै गएको बुढापाकाहरुको गुनासो रहेको छ । गौरा पर्वमा महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबद्ध भएर खेल खेल्दा सहभागीहरुबीच दोहोरो सवाल जवाफको प्रतिस्पर्धा हुने गर्दछ । 

यति मात्र नभइ कतिपय विवाहित महिलाले निराहार व्रत बसेर गौरा घरमा भगवान शिव र पार्वतीको पूजा गर्ने गर्दछन् । यो पर्वमा शिव पार्वतीलाई पूजा गर्दा अक्षताका रुपमा प्रयोग गरिने ‘बिरुडा’ अर्थात् पाँच थरी गेडागुडी मिसाएर भिजाइएको वस्तुको ठूलो महत्व हुन्छ । पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने र पूजा सकिएपछि सबैले प्रसादका रुपमा ग्रहण गर्ने हुँदा बिरुडाको महत्व बढेको स्थानीयहरु बताउँछन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया