इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
भक्तपुर – सत्ता र शक्तिमा रहेका साथै समाज भँडुवाहरुको भण्डाफोर गर्ने व्यंग्यपूर्ण गीतहरुको संग्रह ‘गाइँचा म्ये मुना’ सार्वजनिक भएको छ ।
नेपाल भाषामा ‘गाइँचा म्ये’ रचना गर्नेमा ‘सम्राट’ उपाधि पाउनु भएका प्रतिनिधिसभाका पूर्व सांसद, भक्तपुर नगरपालिकाका पूर्व प्रमुख साथै शिक्षण पेशामासमेत आवद्ध रहनुभएका स्वर्गीय आशाकाजी बासुकलाद्वारा रचित गीतहरुको सङग्रह नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विमोचन गर्नुभएको हो ।
भक्तपुरमा जनै पूर्णिमादेखि कृष्णाष्टमीसम्म परम्परागत ‘गाइँचा म्ये’ गाउँदै हिँड्ने समूह सक्रिय रहँदै आएको छ । ‘गाइँचा म्ये’ गाउने परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन मिति त छैन, तर राणा कालीन समयमा पहाडी ग्रामीण बस्तीबाट शहर झरेकाहरुले गाउँदै हिँड्ने गरेको र आफूले पुर्खाबाट सुनेको भक्तपुरका ‘जनकवि’ का रुपमा सम्मानित चन्द्रबहादुर उलकले बताउनुभयो ।
स्वर्गीय आशाकाजी बासुकला ‘गाइँचा म्ये’ रचना गर्नमा अत्यन्तै सिपालु रहेकाले पञ्चायत कालमा उहाँमार्फत् त्यतिबेलाको व्यवस्था विरुद्धमा नागरिकमा चेतना फैलाउने काम गरेको अध्यक्ष नारायणमान बिजुक्छेले स्मरण गर्नुभयो । आफूहरुले पञ्चायतकालमा जेलमा रहँदा समेत गाइजात्रे व्यंग्य प्रस्तुत गरेको स्मरण गर्दै उहाँले भक्तपुरको जन साहित्य उत्कृष्ट रहेकाले ‘गाइँचा म्ये’ लोकप्रिय रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भ्रष्टहरुको भण्डाफोर गर्न ‘गाइँचा म्ये’ सफल रहेको बताउँदै नागरिकका पक्षमा लेख्ने लेखक र कलाकारहरुका जीवनी स्थानीय विद्यालयका पाठ्यक्रममा राखिएको जानकारी गराउनु भयो ।
स्वर्गीय आशाकाजी बासुकलाका परिवारजन द्वारा गठित आशाकाजी बासुकला स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा उहाँका साथै अन्य ९ जना ‘गाइँचा म्ये’ रचनाकारहरुका रचना सङ्ग्रहित छन् ।
त्रिभुृवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका प्रमुख प्रा. डा. ओमकारेश्वर श्रेष्ठले प्रकाशित ‘गाइँचा म्ये’ सङ्ग्रह तुलना नै गर्न नसकिने लोकसाहित्यको सङ्गालो रहेको बताउनुभो ।
विमोचन कार्यक्रममा नेपालभाषा साहित्य तःमुँज्याका केन्द्रीय अध्यक्ष समेत रहनुभएका चन्द्रबहादुर उलकलाई सम्मान गरिएको थियो । इञ्जिनियर राजकिरण बासुकलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रकाशन समितिका संयोजक कुमार रञ्जितले भक्तपुरमा मात्रै रहेको ‘गाइँचा म्ये’ का अन्य रचनाकार तथा कलाकारको पनि सम्मान र संरक्षण गर्दै जानुपर्ने बताउनुभयो । साथै उहाँले यस्ता रचनाहरु प्रकाशन साहित्यको सूचीमा समावेश गर्न आवश्यकता रहेको पनि औँल्याउनुभयो । कार्यक्रममा भक्तपुरको वडा नम्बर २ बाट ‘गाइँचा म्ये’ प्रस्तुत पनि गरिएको थियो ।