करोडौं खर्च भए पनि सप्तरीको विरेन्द्र बजारको खानेपानी योजना अधुरै

 असार २८, २०७५ बिहिबार ७:७:२७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ मा रहेको विरेन्द्र बजार खानेपानी योजनाको नाममा करोडाैं बजेट खर्च भए पनि योजना भने अधुरै रहेको छ । 

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीद्धारा संचालित योजनामा ६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च हुँदा समेत योजनाको काम अधुरै रहेको हो । 

उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग हुँदा खानेपानी योजनाको काम अधुरो छोडिएको स्थानीयले आरोप लगाएका छन् । उपभोक्ता समिति र कर्मचारीहरुको लापरवाहीका कारण गुणस्तरहीन काम हुँदा पटक—पटक धारा अवरुध्द हुने गरेको उपभोक्तहरुले जानकारी दिएकाका छन् । कम मूल्यको प्लाष्टिक पाइप प्रयोग भएकाले बेलाबेलामा फुट्ने गरेको छ, एक उपभोक्ताले भन्नुभयो, ‘खोलाको मुहानमा ट्याङ्की नै नबनाई पाइप जोडिएको छ । ठूलो पानी पर्दा बाढीले पाइप बगाउने गर्छ । यस्तो हुँदा लामो समयसम्म पानी आउँदैन ।’ 

धरौटी १५ सय, जडान खर्च २ हजार साथै प्रति महिना २ सयको दरले खानेपानी योजनाका उपभोक्ता समितिलाई बुझाउँदा समेत शुद्ध खानेपानी प्रयोग गर्न नपाएको उपभोक्ताहरु बताउँछन् । 

नियमित रुपमा पानी नआएकोले अब धाराको पानी प्रयोग नगर्ने भनी धरौटी माग गर्दा विरेन्द्र बजार खानेपनी तथा सरसफाई योजनाका अध्यक्ष गोपालसिंह थापाले हप्काएको एक उपभोक्ताले दुखेसो पोख्नुभयो । खानेपानी  तथा सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष लालबहादुर तामाङसँग बजेटबारे जानकारी माग्दा आफूसँग आम्दानी खर्चको कुनै अभिलेख नरहेको बताउनुभयो । 

उहाँले के कति आम्दानी खर्च हो भन्ने विवरणबारे अध्यक्षले नबताएको जानकारी दिनुभयो । खानेपानी योजनामा करोडौं खर्च भए पनि काम अधुरै रहनुले उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा मोटो रकमको चलखेल भएको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् । 

खानेपानी योजना संचालन भएको वषौं वित्दासमेत आम्दानी खर्चको कुनै विवरण नराखी सार्वजानिक नगर्नुले ठूलै अनिमियतता भएको हुन सक्ने श्रोतको दावी छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया