पुडासैनी आत्महत्या प्रकरण : लामिछानेसहित तीनै जनाको बयान सकियो, केहीबेरमा थुनछेक बहस सुरु हुने

 भदौ ९, २०७६ सोमबार १३:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा रवि लामिछानेसहित तीनैजनाको बयान लिइएको छ ।

आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो ।

बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुने छ ।

बयान लिएर बहस गर्ने काम आजै सकिए अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्ने छ । बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै सकिने नसकिने यकिन छैन । पक्ष विपक्षमा बहस सकिए उनीहरुलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश अदालतले दिन सक्छ ।

पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलयमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन सुरु गरेको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • dhama paudyal

    Aug. 26, 2019, 1:17 p.m.

    थुन छेक बहस त औपचारिक्ता मात्र हो फैसला त पार्टिको अध्यारो कोठा बाट आउने हो । यहाँ प्रश्न चाही त्यहाँको न्यायाधिस कुन पार्टिको हो त्यस्मा भर पर्छ । आजको सन्धर्ब मा निस्पक्ष न्याय हुनु भन्नु त खरायो को सिङ पलाउनु जस्तै हो । सर्बोच्च अदालत का प्रधान न्यायाधिस हरु नै किर्ते र घुस्खोरी मा गन्हाएको देश मा जिल्ला न्यायाधिस त के हुन र । "जेठा मामा को त त्यो गति, कान्छा मामा को कुन गति"अबा यो देश मा कसैको बिस्वास छैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया