यसरी हुँदैछ कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनको समायोजन

 जेठ ७, २०७५ सोमबार ८:३४:५१ | नवराज फुयाँल
unn.prixa.net

तत्कालीन नेकपा एमालेले मिति तय भइसकेका आफ्ना जनवर्गीय संगठनको अधिवेशन स्थगित गरेको छ । उसले जनवर्गीय संगठनका अधिवेशन, सम्मेलनलगायत नेतृत्व चयनका सबै प्रक्रियामा रोक लगाएको छ । 

यस्तै, तत्कालीन माओवादी केन्द्रले पनि आफ्नो शुभेच्छुक तथा जनवर्गीय संगठनका पूर्वनिर्धारित अधिवेशन तथा नेतृत्व चयनका सबै प्रक्रिया स्थगित गरेको छ । 

नेकपा एमाले र माओवादी केन्द्र दुवैले पार्टी भंग गर्दै नयाँ कम्युनिष्ट पार्टीको गठन गरेपछि तत्कालीन दुवै पार्टीका जनवर्गीय संगठनहरुको अधिवेशन तथा नेतृत्व चयन प्रक्रियामा रोक लगाइएको हो । दुवै पार्टी भंग भएर बनेको कम्युनिष्ट पार्टी नेपालको इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी हुन पुगेको छ । 

दुवै पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनाइएकाले अब दुवै पार्टीका जनवर्गीय संगठनको समायोजनाका लागि अधिवेशन रोकिएको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

जनवर्गीय संगठनका अधिवेशनहरु रोकिए पनि आन्तरिक गतिविधिहरु भने यथावत अघि बढिरहेको छ । 

कसरी गरिँदैछ समायोजन ?

एकतापछि नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय केन्द्रीय सचिवालय बनाइएको छ । सचिवालयमा अध्यक्षसहित एमालेबाट ६ जना र माओवादीबाट ३ जना छन् ।

स्थायी कमिटी ४५ सदस्यीय बनाइएको छ । जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता बस्ने सहमति छ । यस्तै केन्द्रीय कमिटीको सख्या ४४१ सदस्यीय बनाइएको छ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता रहने छन् ।

सचिवालय, केन्द्रीय कमिटी, स्थायी कमिटीको भागबण्डा टुंग्याएका दुवै दलका लागि जनवर्गीय संगठनको समायोजन भने त्यति सहज छैन ।

एमालेको मात्रै झण्डै २० वटा जनवर्गीय संगठन छन् भने माओवादीको १७ वटा छ । केन्द्रीय समिति नै ४ हजार जनाको बनाएको माओवादीको जनवर्गीय संगठनमा सदस्यको सख्या पनि ठूलो छ । सबैलाई पद नै चाहिएको छ । ‘अहिले अधिवेशन हुनुपूर्वको तदर्थ समिति बनाउने हो’ भट्टराईले भन्नुभयो, ‘त्यति समस्या नहोला । तर पनि बृहत छफलफल गरेर समायोजनको बाटो रोजिन्छ ।’

केन्द्रीय सदस्यमा ४५/५५ को भागवण्डा गरेका दुवै दलले जनवर्गीय संगठन समायोजन पनि यस्तै भागवण्डा गर्ने संकेत दिएका छन् ।  

कहिले हुन्छ ?

अबको तीन महिना भित्र दुवै पार्टीका जनवर्गीय संगठनहरुको समायोजना सक्नेगरी काम भइरहेको पनि उहाँले बताउनुभयो । 

‘तीन महिना भित्रमा सबै जनवर्गीय संगठनको अधिवेशनका लागि तदर्थ समिति गठन गर्ने र त्यसपछि अधिवेशनबाट नेतृत्व चयनको प्रकृया अगाडि बढाइने छ’, उहाँले भन्नुभयो ‘त्यसका लागि अहिले बाटै नेताहरुले तयारी थाल्नु भएको छ ।’ 

दुवै पार्टीको एकता हुने बेलैमा तीन महिनाभित्रमा जनवर्गीय संगठनहरुको समायोजन सक्ने सहमति भए अनुसार कामहरु सुरु भएको हो ।  

एकता नभएको भए केही संगठनका अधिवेशनहरु अहिले चलिरहेको हुने थियो । तर पार्टी एकता भएको अवस्थामा दुवै दलले पहिले बनाएका एकै खालका जनवर्गीय संगठनलाई पहिला समायोजन गरिनेछ । हाल तदर्थ समिति बनाउने र त्यही तदर्थ समितिलाई अधिवेशन गराउने जिम्मा दिएर नेतृत्व चयन गर्ने तयारी भएको छ ।
 
सकेसम्म केन्द्रमा जस्तै जनवर्गीय संगठनमा पनि अधिवेसन नभएसम्मका लागि दुई अध्यक्ष राख्ने कि भन्ने विषयमा पनि छलफल चलिरहेको छ । तर एक जना मात्रै अध्यक्ष रहने गरी जनवर्गीय संगठनको समायोजन हुनु पर्छ भनेर व्यापक बहस भइरहेको पनि नेताहरु बताउँछन् । 

एकता अघि एमालेको जनवर्गीय संगठन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
अखिल नेपाल किसान महासंघ
अखिल नेपाल महिला संघ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
युवासंघ नेपाल
नेपाल मुस्लिम इत्तेहाद संगठन
राष्ट्रिय जनसाँस्कृतिक महासंघ
पेशागत महासंघ, नेपाल
नेपाल भूमिहीन सुकुम्वासी संगठन
प्रेस चौतारी नेपाल
नेपाल खेलकुद महासंघ
उत्पीडित जातीय मुक्ति समाज नेपाल
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
नेपाल उद्योग तथा व्यवसायी महासंघ
मानव अधिकार एलायन्स
नेपाल बुद्धिजीवी परिषद्
लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल
लोकतान्त्रिक मधेसी संगठन
नेपाल राष्ट्रिय शिक्षक संगठन

एकता अघि माओवादी केन्द्रको जनवर्गीय संगठन

योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) 
अनेरास्ववियु क्रान्तिकारी
प्रेस सेण्टर
बुद्धिजीवि परिसद्
नेपाल राष्ट्रिय कर्मचारी संगठन
नेपाल राष्ट्रिय शिक्षक संगठन
अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ 
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)
अखिल नेपाल मजदुर संघ
अखिल नेपाल महिला संघ क्रान्तिकारी
जनसाँस्कृतिक मञ्च
नेपाल आदिवासी जनजाति महासंघ
लगायतका वर्गीय संगठनहरु क्रियाशील रहेका छन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया