प्रचण्डकाे अध्यक्षतामा नेकपाकाे सचिवालय बैठक : विभिन्न जिम्मेवारी बाँडफाँड

 भदौ ९, २०७६ सोमबार १४:४५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय पुगेको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको बैठकले विभिन्न पार्टी परित्याग गरी केही समयअघि नेकपामा प्रवेश गरेका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय सदस्यको संख्या बढेको हो । 

केन्द्रीय सदस्य हुनेहरुमा किरण राई, कल्पना धमला, पदम राई र देवेन्द्र पराजुली रहेका छन् । पराजुली र धमला नयाँ शक्तिमा हुनुहुन्थ्याे भने किरण राई र पदम राई भने नेकपा विप्लव छाडेर नेकपामा प्रवेश गर्नु भएकाे हाे ।

पार्टीकाे विधानअनुसार ४४१ सदस्यीय केन्द्रीय सदस्य रहेकोमा १० प्रतिशत थप गर्ने व्यवस्था अनुसार सोमबारको बैठकले ४ जना केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गीय संगठन र विभागका उपप्रमुख र सह-इन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई नियुक्त गरेको छ । यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिइएको थियो ।

बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सह-संयोजकमा पूर्व राजदूत प्रमेश हमाललाई नियुक्त गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानको सह-संयोजकको जिम्मेवारी रमेश धमलालाई दिएको छ ।  धमलालाई ललितपुरको सह-इन्चार्जबाट हटाइएको छ ।

त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदूर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा वीरमान चौधरीलाई नियुक्त गरिएको छ । चौधरीलाई यसअघि कैलालीको सह-इन्चार्ज को जिम्मेवारी दिइएको थियो ।

बैठकले जनवर्गीय संगठनको सह-इन्चार्जहरुमा पनि नयाँ व्यवस्था गरेको छ ।

अखिल नेपाल महिला संघको सह-इन्चार्जमा अमृता थापा र सीता पौडेललाई थप गरिएको छ । आदीवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सह -इन्चार्जमा सुरेश आलेमगर र शेरबहादुर तामाङलाई थप गरिएको छ ।

नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सह-इन्चार्जमा  तिलक परियार र बोमबहादुर विश्वकर्मा, प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सह-इन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सह-इन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङ, इन्जिनियरिङ संगठनको सह-इन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सह-इन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ ।

त्यसैगरी ताप्लेजुङ जिल्ला सह-इन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सह-इन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सह-इन्चार्जमा प्रमोदनारायण यादव र हरिनारायण चौधरी र चुडामणि जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सह-इन्चार्जको जिम्मेवारी दिइएको छ ।

बैठकले सिंगापुरमा उपचाररत अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको पनि कामना गरेको छ ।  साथै बैठकले अबदेखि पार्टीसँग सम्बन्धित असन्तुष्टि पार्टी कमिटी भित्रै राख्नु पर्ने र जथाभावी बोल्दै नहिँड्न पनि निर्देशन दिएको छ । आफ्ना असन्तुष्टि पार्टी कमिटीभित्रै राख्ने र जथाभावी बोल्दै हिँडे स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्म गरिने निर्णय गरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया