सलमान खानले मीका सिंहसँग काम नगर्ने

 भदौ ९, २०७६ सोमबार १९:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड गायक मीका सिंहलाई पाकिस्तानमा गएर प्रस्तुति दिनु महंगो साबित भएको छ । 

फेडरेसन अफ् वेस्टर्न इण्डिया सिने इम्प्लोइज (एफडब्ल्यूआईसीई) ले मीकामाथि प्रतिबन्ध लगाएको छ । मीकाले माफी पनि मागे तर उनको मुस्किल भने बढ्दै गैरहेको छ । 

मीकासँग अन्य कलाकारहरुले सहकार्य गर्न मानिरहेका छैनन् । अहिले यतिबेला बलिउड अभिनेता सलमान खानले पनि मीकासँग काम नगर्ने भएका छन् । 

खासमा सलमान खान अमेरिका एक इभेन्ट गर्न गैरहेका छन्, जहाँ मीका सिंहले पनि प्रस्तुति दिने बताइएको थियो । अब भने त्यो इभेन्टबाट मीका सिंहको नाम हटाइएको खबरहरु सार्वजनिक भएका छन् । 

डेक्कन क्रोनिकलले आफ्नो एक रिपोर्टमा सलमान खानले यो इभेन्टमा मीका सिंहसँग प्रस्तुति नदिने फैसला गरेको बताएको छ । यसो त मीकाले सलमानका लागि कैयौँ हित गीतहरु गाइसकेका छन् । 

यसअघि नै सलमान खानको इभेन्ट गर्न लागेको कम्पनीले मीका सिंहलाई बोलाएको भनेको थियो, तर सलमानले मीकासँग काम नगर्ने बताइएको छ । 

मीका सिंहमाथि प्रतिबन्ध लगाइएपछि मीकासँग काम गर्नेलाई पनि प्रतिबन्ध लगाउने चेतावनी दिइएको थियो । त्यसपछि मीकाको पक्षमा केही सेलिब्रेटीहरुले बोले पनि । अभिनेत्री शिल्पा शिन्धेले मीकामाथि प्रतिबन्ध लगाएर गलत गरेको बताएकी छिन् । ‘पाकिस्तानमा राम्रा गायक हुँदा पनि मीकालाई बोलाइएको हो । मीकालाई प्रतिबन्ध लगाउनभन्दा पनि उनीमाथि गर्व गर्नुपर्छ’, उनले भनिन् । 

मीका सिंह पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफको एक नातेदारको विवाह समाहरोमा गीत गाउन गएपछि उनीमाथि प्रतिबन्ध लगाइएको थियो । धारा ३७० लाई लिएर भारत र पाकिस्तानबीच तनाव बढिरहेको बेला मीका सिंहको भिडियो भाइरल भएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया