नाडा अटाे शाे सुरु : के-के छन् त मेलाका मुख्य आकर्षण ?

 भदौ ९, २०७६ सोमबार २०:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अटो मोबाइल्सका लागि कुम्भ मेलाको रुपमा मानिने नाडा अटो शोको १४औँ संस्करण यही मंगलबारदेखि सुरु हुँदैछ । काठमाण्डौको भृकुटीमण्डपमा सुरु हुने मेला आइतबारसम्म चल्नेछ ।

मेलामा नयाँ मोडलका कार, जीप, मोटरसाइकलसहित गाडीका पाटपूर्जा, हेलमेटलगायतका सामग्री राखिने आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ् नेपालले जनाएको छ ।

विभिन्न आर्कषक छुट, अन द स्पट फाइनान्सको सुविधा रहेको नाडा अटो शोको यो वर्षको मुख्य आर्कषण रुपमा इलेक्ट्रिक र हाइब्रिड कारहरु रहनेछन् भने मेला अवलोकन गर्न आउने अवलोकनकर्ताले ओभर हेड ब्रिजको पनि प्रयोग गरेर दृश्यावलोकन गर्न सक्नेछन् । एउटै छानामुनि विभिन्न स्बदेशी र विदेशी ब्राण्डका सवारी साधनका साथै अटोमोबाइल्सको सबै साम्रगी नाडा अटो शोमा पाइनेछ ।

नाडा अटो शोमा हुने स्टलहरु

नाडा अटो शोमा यो वर्ष कार, मोटरसाइकल, लुब्रिकेन्ट, पार्टपूर्जाका विभिन्न ९५ वटा कम्पनीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

नाडा अटो शोमा साना र ठूला गरेर  १६० वटाहरु रहेका छन् ।  जसमा चारपाङ्ग्रे सवारीका २५ वटा कार, दुई पाङ्ग्रे सवारीका १९ वटा स्टलहरु रहेका छन् । 
यसैगरी ९ वटा बिभिन्न ब्राण्डका टायरहरु, १२ वटा लुब्रिकेन्टको ब्राण्ड, ब्याट्रीको ५ वटा ब्राण्ड, बैङ्क र बीमा कम्पनीका १३ वटा स्टल छन् भने ग्यारेजका सामान पाउने १४ वटा स्टलहरु रहेका छन् ।

यो वर्ष भृकुटीमण्डपको प्रर्दशनी स्थलका साथै बायाँतर्फको बगैँचालाई पनि प्रर्दशनीको हिस्सा बनाएकोले यसले पनि अवलोकनकर्तालाई नयाँ स्वाद दिने विश्वास आयोजकको छ ।

अवलोकनकर्ताको सुविधाका लागि बगैँचाबाट प्रवेश गरी एकतर्फी बाटोको प्रयोग गरेर मेलामा छिर्ने व्यवस्था मिलाइएको नाडा अटो शोका प्रवता अनुप बरालले बताउनुभयो । अवलोकनकर्ताले छिर्नेबित्तिकै बगैँचामा अटो कम्पोनेन्ट्सहरुको स्टलमा प्रवेश गर्नेछन् । त्यहाँबाट हेलमेट, लुब्रिकेन्ट्स, गाडीका पार्टपुर्जालगायतका सामग्री हेर्न र यसबारे जानकारी पाउन सकिने व्यवस्था मिलाइएको छ ।

त्यसपछि खानाको स्टल हुँदै नाडाको सम्पर्क कार्यालयमा पुग्न सकिन्छ, जहाँबाट अवलोकनकर्ताले आफूलाई कुनै पनि जानकारी आवश्यक परेमा वा कुनै समस्या भएमा सम्पर्क कार्यालयबाट जानकारी लिन सक्नेछन् । र त्यसपछि मुख्य हलभित्र प्रवेश गर्न सकिनेछ , जहाँ चारपाङ्ग्रे सवारी साधनका स्टल रहेकाछन् ।

यी सवारी साधनका स्टलसँगै बैकिङ र बीमा कम्पनीका स्टलहरु रहनेछन् । जहाँबाट न्यूनतम ब्याजदरमा आफूलाई मन परेको चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन तुरुन्तै अन द स्पट फाइनासको व्यवस्थाबाट खरिद गर्न सकिनेछ । त्यसपछि अरु विभिन्न लुब्रिकेन्ट, टायर र सवारीका पार्टपुर्जाका स्टलहरु रहनेछन् ।

अवलोकनकर्ताको भिडलाई व्यवस्थित बनाउन पश्चिमपट्टिको ढोकाबाट बाहिर निस्कन सकिने व्यवस्था मिलाइएको छ ।बाहिर निस्कने ढोकैमा ओभरहेड ब्रिज बनाइएको छ । यसलाई मेलाको मुख्य आकर्षणको रुपमा लिन सकिन्छ । ओभरहेड ब्रिजबाट मोटरसाइकलको स्टलमा पुग्न सकिनेछ त्यही केही चारपाङ्ग्रे स्टल पनि छन् ।

अटो मोबाइल्सका विभिन्न ब्राण्डहरुको उपस्थिति निकै उत्साहजनक रहेकोले सम्पूर्ण ग्राहकहरुका लागि आफूले चाहेको सवारीसाधन र पार्टपुर्जा खरिदका लागि यो वर्षको नाडा अटो शो निकै सहयोगी हुने नाडा अटो शोका प्रवत्ता एवम् प्रचारप्रसार समितिका सभापति अनुप बरालले बताउनुभयो ।

नाडा अटो शो नेपालकै ठूलो अटो शो हो । अघिल्लो वर्ष ५ अर्बको व्यापार गरेको नाडा अटो शोले यो वर्ष ५ अर्बभन्दा बढीको ब्यापार गर्ने विश्वास गरिएको छ । गत वर्ष ६५००० ले अवलोकन गरेको नाडा अटो शोलाई यो वर्ष ७५००० ले अवलोकन गर्ने अपेक्षा रहेको नाडा अटो शो का प्रवत्ता एवम् प्रचारप्रसार समितिका सभापति अनुप बरालले बताउनुभयो ।

मगंलबारदेखि आइतबारसम्म चल्ने शोमा सहभागी हुनका लागि अवलोकनकर्ताले प्रतिव्यक्ति २०० र विद्यार्थीको लागि १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । र टिकट खरिद गर्ने सबैमध्ये लक्की ड्रमार्फत एक जनाले भाग्यशाली विजेता भइ जीपीएक्स ब्राण्डको मोटरसाइकल जित्न सक्नेछन् ।

नाडा अटो शो अटो मोबाइल्स खरिदका लागि मात्रै नभई हरेका व्यक्तिहरुका लागि अध्ययन र सिकाइका लागि निकै राम्रो स्थान हुने आयोजक नाडा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जनाएको छ ।

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया