सोलुखुम्बुको तामाखानीमा चार दिनदेखि पासोमा फसेको भालुको उद्धार

 भदौ ९, २०७६ सोमबार २०:४१:५९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु –  सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–३, तामाखानीमा पासोमा फसेको भालुको उद्धार गरिएको छ ।

चार दिनदेखि स्थानीयले थापेको ट्रयापमा फसेको भालु सोमबार राष्ट्रिय प्रकृति कोष चितुवनको वन्यजन्तु प्राविधिक टोलीले उद्धार गरेको हो । शुक्रबार राति पासोमा फसेको भालु सोमबार दिउँसो वन्यजन्तु उद्धार टोलीले सिरिन्जको प्रयोग गरी बेहोस बनाएर उद्धार गरेको डिभिजन वन कार्यलय सोलुखुम्बुले जनाएको छ ।

उद्धार गरिएको भालु अहिले सदरमुकाम सल्लेरीमा राखिएको छ । भालुलाई शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र रुपन्देहीमा लगिने प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

भालुको पेटमा तारले चोट लागेकाले राष्ट्रिय प्रकृति कोष चितुवनका वन्यजन्तु प्राविधिकहरुको निगरानीमा  उपचार गरिने डिभिजन बन कार्यलयका प्रमुख डाक्टर इन्द्रप्रसाद सापकोटाले बताउनुभयो ।

उद्धारका लागि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, प्रहरी नायब उपरीक्षक नारण चिमोरिया, डिभिजन वन कार्यलयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटा, सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पालगायतको टिम तामाखानी पुग्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारीसहितको टोली तामाखानी पुगेपछि स्थानीयले भालु आतंकका कारण आफूहरु आजित भएको भन्दै नियन्त्रणको मागसमेत गरेका थिए । भालु हेर्नका लागि जम्मा भएका झण्डै ७ सयभन्दा बढी स्थानीयबासीले भालु नियन्त्रणको माग गर्दै केही बेर अवरोधसमेत सिर्जना गरेका थिए ।

कृषकले लगाएको मकैबाली रातको समयमा आएर भालुले बारीमा नै सखाप पारेपछि स्थानीयले भालुलाई नियन्त्रणमा लिन ट्रयाप थापेको कृषक अमर राजभण्डारीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया