सनसनी मच्चाउने खालका समाचारकाे स्राेत पहिचान गराैँ

 भदौ १०, २०७६ मंगलबार १६:१:४० | मधु आचार्य
unn.prixa.net

काठमाण्डौ - नेपालमा सामाजिक सञ्जाल कसरी चलिरहेको छ भनेर जान्न पहिला नेपालमा इन्टरनेट प्रयोगकर्ताको पहुँच, सामाजिक सञ्जाल प्रयोगकर्ताको अवस्थाका बारेमा जान्नु जरुरी छ ।

हामी सामाजिक सञ्जाल प्रयोगका हिसाबले नयाँ छौँ । कसरी सही प्रयोग गर्ने भन्ने बारे बल्ल बहस हुन थालेको छ । 

नेपालमा इन्टरनेटको पहुँच, त्यसमा सामाजिक सञ्जाल प्रयोगकर्ताका अवस्था के छ त ? २०७५ माघ/फागुनमा नेपाल मिडिया सर्वेक्षण २०१९ भनेर सेयरकास्टले एउटा सर्वेक्षण गरेको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, सामाजिक सञ्जाल, मोवाइल फोन, अनलाइन माध्यमको विभिन्न पक्षको बारेमा जान्न सर्वेक्षण भएको थियो । यो सर्वेक्षणमा नेपाल भरिका झण्डै ४ हजार व्यक्ति सहभागी गराइएको थियो ।

सर्वेक्षणमा सहभागी भएका धेरैजसोले सामाजिक सञ्जाललाई नै इन्टरनेट भनेर चिन्ने गरेको भेटियो । इन्टरनेट चलाउनु हुन्छ भन्दा चलाउँदिन थाहा छैन भन्ने तर फेसबुक चलाउनुहुन्छ भन्दा चलाउँछु भन्ने गरेको सर्वेक्षणमा पाइएकाले नेपालमा इन्टरनेट भनेकै सामाजिक सञ्जाल हो भन्ने गरेको सर्वेक्षणले देखाइदियो ।

नेपालमा फेसबुक जस्ता सामाजिक सञ्जाल बढी प्रयोगमा रहेका छन् । कतिपयले फेसबुक पनि इन्टरने मार्फत नै चलाउनु पर्छ भन्नेचाहिँ बुझेका छैनन् । धेरैले फेसबुक र इमोलाई नै इन्टरनेट भनेर चिन्ने गरेका छन् । इमो विशेषगरी विदेशमा आफन्त भएकाहरुले प्रयोग गर्ने गरेको पनि सर्वेक्षणमा पाइएको छ ।  

३३ प्रतिशतको पहुँचमा इन्टरनेट

नेपालको कूल जनसंख्याको ३३ प्रतिशतको पहुँचमा मात्रै इन्टरनेट पुगेको छ । त्यसमा पनि दैनिक रुपमा इन्टरनेट चलाउनेहरु ६३ प्रतिशत छन् । इन्टरनेटको पहुँचमा रहेकामध्येले सबैभन्दा बढी के हेर्दा रहेछन् भनेर सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणमा सबैभन्दा बढी फेसबुक चलाउनेहरु भेटिए । इन्टरनेट चलाउनेमध्ये ८८ प्रतिशतले फेसबुक चलाउने गरेको सेयरकास्टको सर्वेक्षणले देखाएको छ ।   

तपाईँले चलाउने तीनवटा एप्लिकेसन के–के हुन भन्दा पहिलोमा फेसबुक, दोस्रोमा फेसबुककै म्यासेन्जर, अनि तेस्रोमा चाहिँ इमो आएको छ । अर्थात ८८ प्रतिशत फेसबुक, ४५ प्रतिशत फेसबुककै म्यासेन्जर, ३५ प्रतिशत इमो र ३४ प्रतिशत मानिसले युट्युब हेर्ने गरेका रहेछन् । युट्युब पछिल्लो समय नेपालीहरुले बढी हेर्न थालेका छन् ।   

प्रदेश ३ र गण्डकी प्रदेशमा धेरै चल्छ इन्टरनेट

नेपालमा इन्टरनेट चलाउने मान्छे अर्थात ब्रोडब्याण्ड इन्टरनेट चलाउनेहरु प्रदेश नम्बर तीन र गण्डकी प्रदेशमा छन् । अर्थात प्रदेश ३ र गण्डकी प्रदेशमा ब्रोडब्याण्ड इन्टरनेटको सञ्जाल विस्तार भएको यसले पनि देखाउँछ । सामाजिक सञ्जालको प्रयोग पनि यी दुवै प्रदेशमा बढी छ ।  

यही ठाउँका मानिसहरुले ल्यापटप, डेस्कटप, ट्याब्लेट पनि बढी चलाउने गरेका छन् । तुलनात्मक रुपमा शिक्षित वर्गका धेरैले यस्ता सामग्री प्रयोग गर्नु स्वभाविक पनि हो । प्रदेश ३ र गण्डकी पछि प्रदेश नम्बर १ मा पनि इन्टरनेटको पहुँच ठिकठिकै छ । प्रदेश नम्बर २ र ५ मा भने ब्रोडब्याण्डभन्दा बढी मोबाइल डाटा चलाउने गरिएको छ ।  

मोबाइल डाटा भनेको १०/२० रुपैयाँ प्याक लिएर चलाउने भन्ने हो । यो भनेको सामाजिक सञ्जालमा के आइरहेको छ भनेर हेर्न मात्रै प्रयोग भएको देखिन्छ । त्यसैले मोबाइल डाटा प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर गर्ने धेरै नहोला । यसो न्यूज फिड हेर्नका लागि बढी डाटाको प्रयोग गरिन्छ । 

त्यसपछि कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा क्रमश: इन्टरनेटको पहुँच कम हुँदै गएको देखिन्छ । सुदूर पश्चिम प्रदेश त डाटा प्रयोगमा पनि सबैभन्दा पछि परेको प्रदेश हो । यी प्रदेशमा इन्टरनेट भन्दा रेडियो सुन्नेहरु धेरै छन् । 

गाउँमा डाटा, सहरमा ब्रोडब्याण्ड

देशको ग्रामीण क्षेत्रमा मोबाइल डाटाबाट नै हो इन्टरनेट चल्ने । झण्डै ७७ प्रतिशत मानिस इन्टरनेट चलाउन मोबाइल डाटा प्रयोग गर्नु पर्छ । तर शहरी क्षेत्रका ६७ प्रतिशत मानिस ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा छन् । गाउँगाउँमा ब्रोडब्याण्डको विस्तार नहुँदा डेटामै निर्भर हुनु परेको यो सर्वेक्षणले देखाउँछ । गाउँ र सहरको यो अवस्था ठ्याक्कै उल्टो छ ।  

त्यसैले फेसबुकमा बढी पोस्ट गर्ने, बढी समय झुण्डिरहनेहरु पनि गाउँभन्दा शहरकै बढी छन् । इन्टरनेटको तीव्र गतिका कारण सहरका मानिसहरु बढी यसमा समय विताउने गरेका हुन् ।  

सर्वेक्षणका अनुसार एक घण्टाभन्दा कम चलाउने मानिसहरु झण्डै ३० प्रतिशत भेटिएका छन् भने १/२ घण्टै चलाउँछु भन्नेहरु ३६ प्रतिशत छन् । २/३ घण्टासम्म इन्टरनेट चलाउँछु भन्नेहरु पनि छन् । तर यो सख्या भने करिब १७ प्रतिशत छ । 

२ प्रतिशतले मात्रै नियमित लेख्छन्

इन्टरनेट प्रयोग गर्नेमध्ये पनि नियमित आफ्ना समूदायमा भएका समस्याका बारेमा लेख्नेहरु भने ज्यादै न्यून भेटियो । सवेक्षणमा सहभागीमध्ये ७४ प्रतिशतले आफ्ना वरपर तथा समुदायमा भएका कुराहरु लेख्ने भन्दा पनि के आइरहेको छ हेर्ने मात्रै गरेको जवाफ दिए । 

आफूले नै आफ्नो समुदायको बारेमा दैनिक लेख्छु भन्नेहरु जम्मा २ प्रतिशत रहेको भेटियो । यो भनेको ज्यादै न्यून संख्याले आफ्नो वरपरका समस्या उठान गर्ने तथा आक्रोश पोख्नेहरु रहेछन् भनेर देखाउँछ । 

हप्तामा कहिलेकाहीँ लेख्छु भन्ने ८ प्रतिशत र महिनामा कहिलेकहीँ लेख्छु भन्नेहरु १६ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । ७४ प्रतिशतले आफ्नो व्यक्तिगत फोटोहरु हाल्ने र अरुले लेखेका कुराहरु सेयर गर्ने गरेका छन् ।  

४५ प्रतिशतले ख्याल गर्दैनन् स्रोत 

पछिल्लो समय फेक न्यूज अर्थात गलत सूचना सम्प्रेषणका कुराहरु बढी चर्चामा छ । नेपालमा मात्रै नभएर यो विश्वका लागि चुनौति पनि भइदिएको छ । बढ्दो फेसक सूचना नै इन्टरनेटको दुर्बल पक्ष हो । ब्रेक्जिट र अमेरिकी चुनाव कसरी झुटाे सूचनाको प्रभावमा पर्‍याे हामी सबैले जानकारी पाएकै हो । पूरा विश्व नै यो समस्यामा जुधिरहेको छ । 

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सामाजिक सञ्जाल चलाउने झण्डै ७४ प्रतिशतले यस्ता पोस्ट नै नगर्ने हुँदा उनीहरुले यस्ता फेक न्यूज प्रवाह गर्ने कुरै भएन । २ प्रतिशत व्यक्तिले मात्रै निरन्तर पोस्ट गर्नेहरु भएकाले उनीहरुले हालेका सूचना सबै सही नहुन सक्ने हुन सक्छ । र त्यही कुरा ७४ प्रतिशत व्यक्तिमध्ये कतिपयले सेयर गर्न सक्छन् । यसरी हेर्दा २ प्रतिशत प्रयोगकर्तामध्ये नै कतिपय यस्ता फेक सूचनाका स्रोत हुन सक्छन् ।  

सर्वेक्षणका क्रममा इन्टरनेट प्रयोगकर्तालाई फेक सूचना, न्यूज थाहा छ कि छैन ? यो फेक न्यूज हो कि होइन ? कुनै बेला तपाईँ फेक न्यूजको सिकार हुनुभएको छ कि छैन भनेर सोधिएको छ । फेक न्यूज कत्तिको जानकारी छ अनि त्यसलाई उनीहरुले व्यवहारमा कसरी लिन्छन् भन्ने विषय पनि सर्वेक्षणमा हेरिएको छ । 

इन्टरनेटमा रहेका समाचार तथा सूचनाहरु गलत वा मिथ्या हुन सक्छन् भन्ने थाहा छ कि छैन भन्दा झण्डै ७० प्रतिशतले थाहा छ भनेका छन् । यो प्रतिशत हेर्दा त नेपालीहरु सचेत रहेछन् भन्ने लाग्छ । तर योसँगैको अर्को प्रश्नमा तपाईँले यो झुटाे हो वा यो सही हो भनेर छुट्याउन सक्नुहुन्छ त भन्दा करिव ६१ प्रतिशतले मात्रै सक्छु भनेको पाइयो । भनेको यो दोस्रो प्रश्नसम्म आइपुग्दा १० प्रतिशत घट्न पुग्यो । 

त्यसपछि फेरि इन्टरनेटमा गलत अथवा मिथ्या समाचारको सिकार हुन सकिएला भनेर तपाईँ कतिको ख्याल गर्नुहुन्छ भन्दा झण्डै ५९ प्रतिशतले म एकदम ख्याल गर्छु भनेको पाइयो । यो तीनवटा चरणसम्मको अवस्था त्यस्तो नराम्रो पनि देखिएन । लगभग नेपालीहरु सचेत नै रहेछन् भन्ने देखिन्छ । तर यस लगत्तै सोधिएको अर्को प्रश्नको जवाफ भने निरासलाग्दो छ । 

कुनै सूचना वा समाचार गलत वा मिथ्या हो होइन भन्ने कुरा त यसको स्रोत हो । यो कहाँबाट आएको हो भन्ने कुरा हो । फेसबुकमा राखे पनि यसको लिंक कहाँ छ भन्ने कुरा मुख्य हो । फेसबुकमा आएका समाचारहरु, सूचनाहरु पत्यारिलो वा भरपर्दो हो कि होइन भनेर हेर्ने गर्नुहुन्छ कि हुँदैन ? ख्याल गर्नुहुन्छ कि हुँदैन भन्दा सर्वेक्षणमा सहभागीमध्ये झण्डै ४५ प्रतिशतले त्यस्तो केही हेर्दिनँ भनेका छन् । यो भनेको त अवस्था डरलाग्दो देखिन्छ । माथिका तथ्यांकले सचेत रहेको देखाए पनि यो तथ्यांकले त्यसलाई गलत देखाइदियो ।   

अहिले हामीले सामाजिक सञ्जालको फिडमा हेर्यौँ भने पनि धेरै जान्ने भनिएका, रिटायर्ड अफिसरहरु, पुलिस अधिकारीहरुले समेत जथाभावी कुराहरु सेयर गरिरहेको भेटिन्छ । यो मान्छेले त यस्तो नगर्ला भन्ने लाग्छ तर उनीहरु नै त्यस्तै त्यस्तै लिंक सेयर गरेर बसिरहेका हुन्छन् । 

बाहिर जस्तो देखिन्छ हेर्दा सामाजिक सञ्जालभित्र उस्तै हुँदैन मान्छे  

मैले प्रेषित गरेको, सेयर गरेको लिंकहरुले सामाजिक सञ्जालमा मेरो के इमेज बनिरहेको छ भन्नेबारे ख्याल गर्नु जरुरी छ । सामाजिक सञ्जाल त मेरै हो नि भन्ने लाग्न सक्छ । तर त्यो भनेको त तपाईँले आफ्नो पहिचान खुल्ला छाड्नु भएको हो । यसरी त तपाईँको बारेमा जसले पनि मूल्याङ्कन गर्न सक्छ । 

हुन त कतिलाई यो बारेमा जानकारी नहुँदा पनि त्यस्तो गरेका हुन सक्छ । कतिपयलाई सोसल मिडिया लत नै लागेको पनि हुन सक्छ । यो भनेको त चिया, चुरोटको लत जस्तै पनि त हो नि । 

सामाजिक सञ्जालले नेपालमा मात्रै होइन विश्वभरि नै मान्छेहरुलाई २/३ वटा पहिचान राख्न मद्धत गरेको छ । मैले मेरो पहिचान सामाजिक सञ्जालमा कस्तो देखाउने भन्ने कुरो महत्वपूर्ण हो ।

कतिपयले फेक आइडी नै क्रिएट गरेर पहिचान लुकाएको देखिन्छ भने कतिपय बाहिर जस्तो देखिन्छ सामाजिक सञ्जालमा उसका गतिविधि त्यस्तो नदेखिने पनि हुन्छ । 

आफूले आफैलाई स्वनियमन गरौँ 

पहिलेदेखि चल्दै आएको रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाले विभिन्न प्रक्रिया पूरा गरेपछि मात्रै समाचार प्रवाह गर्छन् । समाचार सही वा गलत छुट्याउने गेटकिपर हुन्छन् । गे किपरले यो समाचार दिँदा लक्षित समुदायलाई उपयुक्त होला कि नहोला भन्ने विषय पहिले नै फिल्टर गरेको हुन्छ । 

अहिले चाहिँ के भयो भने गेटकिपरहरु इण्डिभिजुअलमा पुगे । रेडियो, टेलिभिजन नभए पनि ब्रोडकास्ट हुने भयो । हरेक व्यक्ति अहिले आफै रिपोर्टर आफै सम्पादक बन्न पुगेका छन् ।  

अर्को कुरा भनेको सोच्दै नसोची, यसले के प्रभाव पार्न सक्छ भन्ने विचारै नगरी त्यस्ता सूचना प्रेषित गर्ने प्रवृत्ति बढ्यो । ट्विटर, फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालमा राखेको सामग्रीले अरुलाई कस्तो प्रभाव पार्छ, मैले भन्न खोजेको कुरो अरुले कसरी बुझ्लान्, बाहिर मेरो इमेज कस्तो जाला भन्ने सोचेको पाइँदैन । यदि यस्तो सोचेर गर्ने हो भने यस्ता प्रवृत्ति पक्कै घट्ने छन् । 

अहिले त ‘क्लिक बेस्ड’ मा आधारित भएर सूचना दिने होड बढ्यो । विशेषगरी युट्युबमा यस्तो प्रवृत्ति बढी छ । अनलाइन तथा प्रिन्ट मिडियामा पनि त्यही प्रवृत्ति हावी हुँदै गएको देखिन्छ ।  

यो भनेको बल्छी थाप्ने प्रवृत्ति हो । भित्र जे सुकै होस् तर बाहिर चाहिँ सनसनी मच्चाउने खालका हेडलाइन राखेर बल्छी थापिएको हुन्छ । त्यसैले यो बल्छीबाट बच्नु एउटै उपाय भनेको पहिला त्यसको स्रोत पहिचान गर्ने हो । स्रोत पत्ता लागेपछि यस्ता बल्छीबाट पनि बचिने भयो । अफवाहबाट पनि बचिने भयो ।  

सबैभन्दा मुख्य कुरो भनेको आफूले लेख्ने कुराहरु, सेयर गर्ने कुराहरु कम्तीमा पनि ३/४ पटक सोचेर मात्रै हाल्ने गर्नुस् सेयर गर्ने गर्नुस् । यसमा ठूलो अरु केही पनि गर्नु पर्दैन ।

यो गलत होला कि सही होला, चलेका मिडियाबाट आएका हुन् कि जथाभावी खुलेकाबाट, यो लेख्ने मान्छे भरपर्दो होला कि नहोला, म त हल्लाको सिकार भएँ मैले हालिदिएँ भने अरुलाई पनि यसको सिकार बनाउँछु कि भन्ने कुरा दुई/तीन पटक सोच्नेबित्तिकै त यस्तो कुराबाट बचिहालिन्छ नि । यो डिजिटल भाँडो तपाईँको हातमा छ  । त्यसको कन्ट्रोल त तपाईँ आफैले गर्ने हो नि । 

तपाईँले राखेका हरेक कुरा राखिसकेपछि कसले हेरे, कतिले हेरे भनेर देख्न सकिने भएकाले सोचेर मात्रै हाल्ने गरौँ न । सुरुवात आफैबाट गरौँ । आफूले आफैलाई स्वनियमन गरौँ । 

नराम्रो मात्रै छैन

सामाजिक सञ्जालको प्रयोग धेरै राम्रो काममा पनि गरिएको छ । भूकम्पका बेला सामाजिक सञ्जालको प्रयोगबाट कति ठूला काम भएको छ । अहिले सरकारका कतिपय अङ्गहरु, जस्तो ट्राफिकको सूचना, मौसमसम्बन्धी जानकारी तथा सूचनाहरु सकारात्मक रुपमा प्रवाह भइरहेको छ ।

यो भनेको सामाजिक सञ्जालको सही सदुपयोग हो नि । यस्तै सामाजिक सञ्जाल कुनै क्याम्पेन चलाउन वा विभिन्न नागरिक अभियानहरुको उदयका लागि पनि सशक्त माध्यम बनेको देखिन्छ । 

त्यसैले यसको सही प्रयोगको बारेमा बहस जरुरी होला तर यसको नियमन भन्ने कुरा त  साध्य हुने कुरो होइन । देशको १६ वर्षमाथिको ३३ प्रतिशत जनसख्याले इन्टरनेट प्रयोग गर्छन् । कतिले जथाभावी लेख्लान् त्यो आफ्नो ठाउँमा छँदै छ ।

जथाभावी पोस्ट गर्नेलाई कारबाही गर्दै जाँदा केही निरुत्साहीत हुन सक्ने सम्भावना पनि होला । तर जथाभावीको परिभाषा के हो त ? यो जथाभावीको परिभाषाले गर्दाखेरी हाम्रो मौलिक स्वतन्त्रता छ त्यो हनन् हुने सम्भावना पनि त होला नि ?

त्यसैले यसको सही सदुपयोगका बारेमा सबैतिरबाट बहस र सचेतना फैलाउनु बाहेक अर्को विकल्प देखिँदैन । मूलधारका मिडियाले अब सत्य चाहिँ यो हो है भनेर बाहिर ल्याउनु पर्छ । बाहिर हल्ला यस्तो छ तर वास्तविक कुरा यस्तो हो है भनेर मूलधारका सञ्चारमाध्यमले प्रष्ट पार्न सक्नु पर्छ ।  

२ प्रतिशतले मात्रै पत्याउँछन् सामाजिक सञ्जालका कुरा

सामाजिक सञ्जालमा प्रवाह भएका समाचार तथा सूचनाहरु पत्याइहाल्ने अवस्था छैन है भन्ने कुरा एउटा हो । यसमा नेपालको सन्दर्भमा रहेर कुरा गर्ने हो भने सामाजिक सञ्जालका कुरा धेरैले पत्याउँदैनन् । 

सबैभन्दा पत्यारिलो माध्यम मान्छेहरुले टेलिभिजनलाई लिने गरेका छन् । सर्वेक्षणका अनुसार झण्डै ३३ प्रतिशत मानिसले टेलिभिजनको सूचनालाई विश्वसनीय मान्ने गरेका छन् । २७ प्रतिशत मानिसले रेडियो धेरै भरपर्दो मान्ने गरेका छन् । 

यस्तै पत्रपत्रिका सबै ठाउँमा नपुग्ने भएकाले २ प्रतिशतले पत्रपत्रिकाको कुरा पत्याउँछु भनेको अवस्था छ । तर सामाजिक सञ्जालको जति धेरै प्रयोगकर्ता छन् त्यसको जम्मा २ प्रतिशतले मात्रै सञ्जालमा आएका समाचार तथा सूचनाहरु पत्याउछु भनेको अवस्था छ ।

यो भनेको सामाजिक सञ्जालमा आउने सूचनाहरु धेरैले पत्याउने रहेनछन् भन्ने नै हो । त्यही भएर धेरै तर्सिहाल्ने अवस्था छैन । सबै बिग्रिसकेको अवस्था पनि छैन । बरु मानिसहरु एक अर्काले भनेको कुरा जस्तो साथी, छरछिमेकीले भन्ने कुराहरु बढी पत्याउने गरेको सर्वेक्षणले देखाएको छ । यसरी २९ प्रतिशत मानिसले साथीसङ्गीले भन्ने कुरा पत्याउने गरेका छन् ।  

(सेयर कास्ट इनिसिएटिभ्स नेपालका कार्यकारी प्रमुख मधु आचार्यसँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: कात्तिक २१, २०७६

मधु आचार्य

आचार्य सेयर कास्ट इनिसिएटिभ्स नेपालका कार्यकारी प्रमुख हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया