स्वास्थ्यमा थाेरै बजेट विनियोजन भएकाेमा स्वास्थ्य राज्यमन्त्री यादवको गुनासो

 भदौ १०, २०७६ मंगलबार १९:४४:२२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट नछुट्याएको गुनासाे गर्नुभएको छ  ।

तौलिहवामा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा राज्यमन्त्री यादवले विकसित देशमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत रकम छुट्याइने गरेको भए पनि नेपालमा ४.४ प्रतिशत मात्र बजेट छुट्याउँदा आवश्यकता अनुसार स्वास्थ्य क्षेत्रको विकास गर्न नसकिएको बताउनुभयाे ।

आम जनतालाई पूर्ण निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सके मात्रै सरकारको नागरिकप्रतिको उत्तरदायित्व पूरा हुने भन्दै त्यसका लागि सरकार योजनाबद्ध ढंगबाट अघि बढेको उहाँले बताउनु भयो ।

त्यस अवसरमा राज्यमन्त्री यादवले सरकारमा रहेर आफूहरुले गलत कुराको समर्थन गर्न नसक्ने बताउनु भयो । संघीयता कार्यान्वयन गराउन हामी सरकार भित्र बसेका छौँ, राज्यमंत्री यादवले भन्नुभयो, मुलुकमा प्राप्त उपलब्धीलाई रक्षा गरी संघीयताको कार्यान्वयन र अन्य बाँकी अधिकारका लागि संघर्ष नै हाम्रो उद्देश्य हो ।

प्रेस नेपालका जिल्ला अध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य शहसराम यादव, सन्तोष कुमार पाण्डेय, पूर्वमन्त्री दान बहादुर चौधरी, समाजवादी पार्टीका प्रदेश नं. ५ का अध्यक्ष अशोक यादव, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवलगायतको उपस्थिति रहेको थियो । 

त्यस अवसरमा राज्यमन्त्री यादवले तौलिहवा अस्पतालको अवलोकन र जिल्ला कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको थियो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया