सलमान र भन्सालीबीच कुरा नमिल्दा 'इन्शाअल्लाह'काे सुटिङ राेकियाे

 भदौ ११, २०७६ बुधबार १२:५४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘खामोशी द म्युजिकल’ र ‘हम दिल दे चुके सनम’ जस्ता हिट चलचित्र दिएर सलमान खानलाई सुपरस्टार बनाउन सहयोग गर्ने भन्सालीले उनको आगामी चलचित्र ‘इन्शाअल्लाह’ भने बन्द गरिदिएका छन् । चलचित्रको पटकथामा हस्तक्षेप हुन थालेपछि भन्सालीले यस्तो निर्णय लिएको बताइएको छ । 

तीन दिनअघि अभिनेत्री आलिया भट्ट र सञ्जय लीला भन्सालीको भेटघाटपछि नै चलचित्र ‘इन्शाअल्लाह’ का विषयमा चर्चा सुरु भएको थियो । पहिले सार्वजनिक भएको खबरमा चलचित्रको कहानी हलिउड चलचित्र ‘प्रिटी वुमन’ को कहानीसँग मिल्दोजुल्दो छ भनिएको थियो । भन्सालीलाई चलचित्रको कहानी परिवर्तन गर्न दबाव दिन सकियोस् भनेर नै यो खबर जानाजान लिक गरियो । तर भन्सालीका तर्फबाट भने यो चलचित्रको कहानी ‘प्रिटी वुमन’ सँग कहीँ कतै पनि नमिल्ने बताइयो । 

त्यसपछि गएको आइतबार एउटा खबर सार्वजनिक भयो, जसमा चलचित्र ‘इन्शाअल्लाह’ वितरण अधिकारसमेत बिक्री भइसकेको बताइयो । भन्साली र चलचित्रको अधिकार खरिद गर्ने व्यक्तिबीच भएको आपसी सम्झौता सलमानलाई चित्त बुझेन । भन्सालीले १९० करोड रुपैयाँमा चलचित्रको वितरण अधिकार बेचेको खबर सार्वजनिक भयो । अधिकार बिक्री भएको खबर सार्वजनिक भएको केही घण्टामा सलमानले ट्वीट गर्दै चलचित्रकाे प्रदर्शन मिति अगाडि धकेलिएको बताए । जुन खबरले बलिउडमा हंगामा नै मच्चिएको थियो । 

सोमबार दिनभरि नै भारतीय सञ्चारमाध्यममा चलचित्र ‘इन्शाअल्लाह’ लाई लिएर अनेक खबर सार्वजनिक भए । भन्साली ती खबरहरुका कारण निकै तनावमा थिए र अन्ततः उनले सबै कुरालाई पूर्णविराम लगाउने निर्णय लिए । खबरहरुका अनुसार भन्सालीले आलिया भट्टलाई केही दिनअघि नै चलचित्र बन्द हुने जानकारी गराइसकेका थिए । 

चलचित्र ‘इन्शाअल्लाह’ को विवादको सुरुवात तब भयो जब चलचित्रको कहानीमाथि सलमानले हस्तक्षेप गर्न थाले । भन्साली आफ्ना चलचित्रको क्रियटिभ कामको हकमा ठूला सुपरस्टारको समेत कुरा सुन्दैनन् । भन्साली कुनै पनि हालतमा अरु कसैको दबाव वा हस्तक्षेपमा परेर चलचित्रचको कहानीमाथि हेरफेर गर्दैनन् ।

उनीसँग कैयौँ चलचित्रमा काम गरिसकेका अभिनेता रणवीर सिंहलाई समेत भन्सालीले सार्वजनिक रुपमै हप्काउने गर्थे । तर सायद दशकअघि भन्सालीसँग काम गरिसकेका सलमान खानले भन्सालीको यो व्यवहारको ख्याल गरेनन् र आफ्नो 'दबंगपना' यो चलचित्रमा पनि देखाउन खोजे । सञ्जय लीला भन्सालीले भने सलमानको हस्तक्षेप सहनुको साटो चलचित्र ‘इन्शाअल्लाह’ नै बन्द गर्ने निर्णय लिए । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया