स्पेनिस स्टार नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा

 असार २८, २०७५ बिहिबार १२:१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस स्टार रफायल नाडाल वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनी खेलाडी जुहान मार्टिन डेल पोर्तोलाई ३–२ को सेटमा पराजित गर्दै नाडाल सन् २०११ पछि विम्बल्डनको सेमिफाइनलमा पुगेका हुन् ।
 
इंग्ल्याण्डको सेन्ट्रल कोर्टमा पोर्तोलाई हराउन नाडालले करिव ५ घण्टा खर्चिए । सुरुआती तीन सेटमा दुई एकले पछि परेको स्थितिलाई उल्टाउँदै नाडालले ३–२ को सेटमा जित निकालेका हुन् ।
 
पहिलो सेट ७–५ ले जितेका नाडालले दोस्रो सेट टाइब्रेकरमा ६–७ ले हार्न पुगे । तेस्रो सेट पनि उनले ४–६ ले गुमाए । तर, अन्तिमका दुई सेटमा उत्कृष्ट पुनरागमन गरी दुई पटकका विल्मबल्डन च्याम्पियन नाडालले ६–४ र ६–४ ले आफ्नो पक्षमा पारे ।
 
विम्बल्डन टेनिसको तेस्रो उपाधि नजिक रहेका नाडाल वर्षको दोस्रो ग्राण्डस्लाम उपाधिको खोजीमा छन् । उनले गत जुनमा फ्रेन्च ओपनको उपाधि जितेका थिए ।
 
१७ पटकका ग्राण्डस्लाम विजेता नाडाल फेडेरर क्वार्टरफाइनलबाट बाहिरिएपछि विम्बल्डनको प्रमुख दावेदारको रुपमा देखिएका छन् ।
 
दोस्रो वरियाताका नाडालले सेमिफाइनलमा १२ पटकका ग्राण्डस्लाम विजेता सर्वियन नोभाक जोकोभिचसँग खेल्नेछन् ।
 
जापानी खेलाडी केइ निशिकोरीलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । पहिलो सेट ६–३ ले जितेका जोकोभिचले दोस्रो सेट ३–६ ले गुमाएका थिए । तर, त्यसपछिका लगातार दुई सेटमा क्रमसः ६–२ र ६–२ ले जितेर उनले सेमिफाइनलमा स्थान बनाए । जोकोभिचले यसअघि तीन पटक विम्बल्डनको उपाधि जितिसकेका छन् ।
 
यता ग्रास कोर्टका बादशाह स्वीस सुपरस्टार रोजर फेडेरर भने क्वार्टरफाइनलबाटै आउट हुन पुगे । साविक विजेता फेडेरर दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डरसनसँग पराजित हुन पुगे । लण्डनको सेन्ट्रल कोर्टमा ४ घण्टा १३ मिनेटसम्म चलेको खेलमा फेडेरर ३–२ को सेटमा पराजित हुन पुगे ।
 
शीर्ष वरियाताका फेडेररसँग दुई शून्यको सेटमा पछि परेको स्थितिमा उत्कृष्ट पुनरागमन गरी आठौं बरियताका एण्डरसन सेमिफाइनलमा पुगेका हुन् । नवौं पटक विम्बल्डनको उपाधि जितेर कीर्तिमान बराबरी गर्ने अभियानमा रहेका फेडेररले अप्रत्यासित पराजय ब्यहोरेका हुन् ।
 
पहिलो सेटम २–६ को सहज जित हासिल गरेका फेडेररले दोस्रो सेट पनि टाइब्रेकरमा ६–७ ले जितेका थिए । त्यसपछिका तीन सेटमा एण्डरसन उत्कृष्ट लयमा फर्किए । उनले ७–५, ६–४ र १३–११ को जित निकालेका हुन् ।
 
सेमिफाइनलमा एण्डरसनले जोन इस्नरसँग खेल्नेछन् । इस्नरले क्वार्टरफाइनलमा मिलोस राओनिकलाई हराएर सेमिफाइनलमा पुगेका हुन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया