नेपाल एअरलाइन्सको वाइडबडी जापान उड्दै, मन्त्रीले बिदाइ गर्ने

 भदौ ११, २०७६ बुधबार १९:५२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापानमा उडान रोकिएको १२ वर्षपछि नेपाल वायुसेवा निगमले बिहीबारदेखि फेरि जापान उडान गर्दैछ । निगमको २ सय ७४ सिटे एअरबसको वाइडबडी जहाज बिहीबार बिहान साढे २ बजे काठमाण्डौबाट जापानको ओसाकाको लागि उड्दैछ ।

काठमाण्डौ–ओसाका उडानको लागि ९९ जना यात्रुले टिकट बुकिङ गरेका छन् । पहिलो उडानमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढासहित ६ जना सांसद पनि जापान जाँदैछन् । यस्तै १० जना निगमका कर्मचारी पनि पहिलो उडानमा ओसाका जानेछन् ।

राति साढे २ बजे काठमाण्डौबाट ओसाकाका लागि उड्ने जहाजलाई बिदाइ गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।

‘हामीले १२ वर्षपछि पाएको यो सफलतालाई हर्षका रुपमा लिएका छौँ, त्यसैले हामीसँगै राज्यमन्त्री जापान जानुहुन्छ, बिदाइ गर्न मन्त्रीज्यू नै एअरपोर्ट जाने कार्यक्रम छ’, निगमका गणेश चन्दले उज्यालो अनलाइनसँग भन्नुभयो ।

काठमाण्डौबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुग्नेछ । जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ । राती साढे २ बजे जापान उडेको जहाज अर्को दिन बेलुकी ६ बजे काठमाण्डौ आइपुग्नेछ ।

निगमले मंगलबार, बिहीबार र शनिबार काठमाण्डौ–ओसाका उडान गर्दैछ ।  जापानमा पनि नेपाल वायुसेवा निगमको पहिलो उडानलाई स्वागत गर्ने तयारी भैरहेको छ । जहाजलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत नै विमानस्थल पुग्ने कार्यक्रम छ । 

टिकट बिक्री निराशाजनक, तर प्रवर्द्धनका लागि मात्रै भए पनि उडान हुने

काठमाण्डौ–ओसाका उडान गर्ने नेपाल एअरलाइन्सको एअरबस ३००–२२० सिरिजको वाइडबडी जहाजमा २ सय ७४ सिट छन् । तर काठमाण्डौ–ओसाकाको पहिलो उडानको लागि ९९ जना यात्रुले मात्रै टिकट बुकिङ गरेका छन् । फर्कँदालाई पनि जम्मा ५० जना यात्रुले मात्रै टिकट किनेको उपमहाप्रबन्धक चन्दले जानकारी दिनुभयो । 

निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ ।

टिकटदर पनि सस्तो रहेको र यात्रु पनि कम रहेकाले ओसाका उडानमा निगम घाटामा जाने देखिन्छ । तर व्यापार प्रवर्द्धनका लागि सुरुका केही दिन घाटा खाएरै भएपनि उडान  जारी राख्ने निगमको तयारी छ ।

‘सुरुमा भरिभराउ यात्रु पाइएलान भन्ने हाम्रो अपेक्षा पनि होइन, त्यसैले प्रवर्द्धनका लागि घाटा खै खाएर भए पनि जहाज उडाउँछौँ’, चन्दले भन्नुभयो । 

१२ वर्षपछि फर्किएको खोलो

१२ वर्षपछि खोलो फर्कन्छ भनेझैँ निगमले पनि १२ वर्षपछि जापानमा सिधा उडान गर्दैछ । अहिले धरासायी बन्दै गएको नेपाल एअरलाइन्सको विगत भने निकै गर्विलो छ । नेपाली झण्डा अंकित तत्कालीन शाही नेपाल वायुसेवा निगमका जहाज काठमाण्डौबाट शांघाई, टोक्यो, लण्डन, फ्रयाङ्कफर्टसम्म पुग्थे । केही गन्तव्यमा निगमको ‘अकुपेन्सी’ शतप्रतिशत थियो ।

निगमले सन् १९९४ को अक्टोवर ३० तारिखमा चीनको शांघाई हुँदै जापानको ओसाका उडान सुरु गरेको थियो । ओसाका–शांघाई–काठमाण्डौ, अनि काठमाण्डौ–शांघाई–ओसाका उडान निगमका बोइङ ७५७ सिरिजका जहाजले गर्थे ।

सुरुमा निगमले यात्रु नपाए पनि पछि औसतमा ८१ प्रतिशत सिट भरिएका हुन्थे । तर निगमसँग जहाज घट्दै जानु र अरु एअरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सन् २००७ को अप्रिल १२ देखि काठमाण्डौ–ओसाका उडान रोकियो । यसरी उडान स्थगित हुनलाई निगमले २ वटा कारण भनेको छ । पहिलो कारण निगमका जहाज पर्याप्त नहुनु र दोस्रो ट्रान्जिट फ्लाइट हुँदा व्यवस्थापनमा गाह्रो हुनु ।

१२ वर्ष उडान गर्दा निगमले काठमाण्डौ–शांघाई–ओसाका रुटमा २ लाख ३५ हजार २ सय ४२ यात्रु बोकेको थियो । यस्तै २१ सय ६५ टन कार्गो निगमको जहाजले बोकेको थियो ।

निगमले काठमाण्डौदेखि ओसाकासम्म नियमित उडान गरेको थियो । सन् १९९४ देखि सन् २००७ सम्म निगमको जम्मा एउटा उडान मात्रै स्थगित भएको थियो, नत्र उडान नियमित भयो । त्यसैले नेपाल वायुसेवा निगमले ओसाका विमानस्थलबाट ‘नन क्यान्सिल अवार्ड’ पनि पाएको वाणिज्य निर्देशक टंकनिधि दाहाल बताउनुहुन्छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया