मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्यौल अन्त्य गर्न नेपाल–मलेसिया प्राविधिक कमिटीको बैठक बस्ने

 भदौ १२, २०७६ बिहिबार १०:५४:५७ | रासस

काठमाण्डौ – मलेसिया रोजगारीलाई मूर्त रुप दिन भदौ २४ र २५ गते नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठक बस्ने भएको छ ।

दुई देशबीच श्रम समझदारी भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्ग्याउने बारेमा बैठकमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मलेसियामा हुने प्राविधिक कमिटीको बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा अहिलेसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्यौल अन्त्य गर्ने र ‘मोडालिटी’ तय गर्ने छ । बैठकले समझदारी कार्यान्वयनमा आएको समस्याको समाधान खोज्नेछ । बैठकमा नेपालको तर्फबाट सात सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव (दुई), परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक÷एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ ।

दुई देशबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसिया रोजगार नियमित हुन सकेको छैन । पहिलो प्राविधिक कमिटीको बैठक श्रम समझारीलगत्तै काठमाण्डौमा बसेको थियो ।

गत असारमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन जेनेभा पुगेका नेपाल र मलेसियाका उच्च अधिकारीबीच छिट्टै प्राविधिक कमिटीको बैठक बस्ने सहमति भएको थियो ।

नेपाल र मलेसियाबीच गत कात्तिक ११ गते श्रम समझदारी भएको थियो । श्रम समझदारी भएको लामो समय भए पनि मलेसिया नियमित हुन सकेको थिएन ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १२२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् । सरकारले मलेसिया जाने कामदारमाथि चर्को आर्थिक शोषण भएको भन्दै २०७५ जेठमा नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया