भारतमा योजना बनाएर विराटनगरमा डकैती, ४ नेपालीसहित ३ भारतीय डाँका पक्राउ

 भदौ १२, २०७६ बिहिबार १७:५८:१० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – भारतमा योजना बनाएर विराटनगरका विभिन्न स्थानमा डकैती गर्ने सात जनाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका सबै जनालाई मोरङ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । विराटनगरमा केही समय अगाडि श्रृङ्खलाबद्ध रुपमा सटर फोरेर चोरीका घटना भएका थिए । विराटनगरका ४ ओटा ठाँउमा सटर फोडेर नगद चोरी भएपछि प्रहरीको सक्रियता बढेको थियो ।

पक्राउ परेकामाथि अनुसन्धान गर्दा विराटनगरमा चोरी गर्नलाई भारतको सितामाढीमा योजना बनाएर उनीहरु नेपाल छिरेको खुलेको छ । डकैती गरेपछि पक्राउ परेको गिरोहमा ३ जना भारतीय र ४ जना नेपाली नागरिक छन् ।

पक्राउ पर्ने भारतीय नागरिकमा बिहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र बेनीपट्टी लदौता–६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन् । त्यस्तै रौतहटको गौर नगरपालिका–३ पोखरियाका ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ का ५२ वर्षीय शेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अली असगर पनि पक्राउ परेका छन् । मोरङको पथरी नगरपालिका–१ बाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले पक्राउ परेकाहरुले डकैतीमा भारतीय नम्बर प्लेटको स्कोरपियो गाडी पनि प्रयोग गर्ने गरेको खुलेको जानकारी दिनुभयो । प्रहरीले डकैतीमा प्रयोग गरिएको बीआर ३२ पीए २८३६ नम्बरको स्कोरपियो नियन्त्रणमा लिएको बताउनु भयो । 

उपरीक्षक अधिकारीका अनुसार विराटनगरमा डकैती गरिसकेपछि सातै जना त्यही स्कोरपियो गाडीमा चढेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिर्ने योजनामा थिए । त्यही योजनाअनुसार भारततर्फ जाने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरी शनिश्चरेमा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु पछिल्लो पटक भदौ ९ गते सोमबार बिहान ८ बजे जोगबनी नाका हुँदै नेपाल छिरेको पत्ता लागेको छ । चार दिनको भन्सार तिरेर त्यही स्कोरपिओमा उनीहरु नेपाल छिरेको उपरीक्षक उपरीक्षक अधिकारीले बताउनु भयो । 

यसरी भयो श्रृङ्खलाबद्ध चोरी

पक्राउ परेको गिरोहले विराटनगरमा मात्रै चार पटक डकैती गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लो पटक मंगलबार बिहान साढे ३ बजे सटर फुटाएर विराटनगर महानगरपालिका–७ मा रहेको माँ भवानी इन्टरप्राइजेजबाट ६ लाख रुपैयाँ र कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट पनि सटर फुटाएर चार लाख ९५ हजार रुपैयाँ डकैती गरेको प्रहरीले बताएको छ । 

त्यसअघि गएको साउन २३ गते बिहान विराटनगर महानगरपालिका–२ शनिहाटमा रहेको गणनायक मार्केटिङ हाउस नामको किराना पसलबाट सटर फुटाएर चार लाख तथा सटर फुटाएरै पञ्चकन्या ट्रेड लिंकबाट पाँच लाख ९५ हजार रुपैयाँ डकैती गरेको उपरीक्षक अधिकारीले बताउनुभयो । 

डकैतीको पछिल्लो घटनामा प्राप्त सीसी टिभी फुजेटबाट उनीलाई पक्राउ गर्न सकिएको उहाँले बताउनुभयो । 

यी सामान बरामद

पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीका सात ओटा मोबाइल सेट, १२ हजार आठ सय ५० नेपाली रुपैयाँ र ११ हजार चार सय १० भारतीय रुपैयाँ, स्कोरपियो गाडी, एउटा नेपाली र नौवटा भारतीय सिम कार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, कम्ब्याट पेन्ट र हाफपेन्ट दुई ओटा, नौ ओटा गम्छा, दुई ओटा तन्ना र चार ओटा झोला बरामद भएको अधिकारीले जानकारी दिनुभयो । 

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँकासम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उपरीक्षक अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया