अर्को वर्ष आउने निम्तो दिँदै डोटीबाट गौरादेवीकाे बिदाइ

 भदौ १२, २०७६ बिहिबार २०:३१:४६ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिमको संस्कृतिको धरोहरका रुपमा रहेको प्रसिद्ध गाैरा पर्वमा गौरा देवीलाई बिहीबार विधिवत रुपमा बिदाइ गरिएको छ ।

बुधबार रातभर नाटक, तुलछाका खेल तथा अन्य मनोरन्जनात्मक खेल डेउडा खेलेर  बिहीबार डोटेली बासीले आज गौरादेवीको बिदाइ गरेका हुन् ।सुदूर पश्चिमेलीले गएकाे बिहीबार विधिवत रुपमा गौरा भित्र्याएका थिए ।

सुदूरपश्चिमका अन्य केही जिल्लामा बुधबार नै गौरादेवीको विसर्जन गरिए पनि डोटीको जोरायल,भूमिराजमाण्डौ तथा गड्सेरा क्षेत्रमा भने स्थानीयले गौरादेवीको साइत सारेर बिहीबार बिदाइ गरेको जोरायल गाउँपालिका ५ की स्थानीय राधादेबी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, परदेशमा रहेका दाजुभाइ घर आएकाले उहाँहरुको आग्रहमा हामीले एक दिनका लागि गौरा देवीको साइत सारेका थियौँ, अब अर्को वर्षमा आउने निम्तो दिँदै आज बिदाइ गर्‍यौँ ।

यतिमात्र नभइ त्यस क्षेत्रमा बिहीबार गौरादेवीको बिदाइ गर्ने दिन चढाएका फलफुलहरु फाल्ने अर्थात अठमल्लि उरेलियाे । उरेलिएका अठमल्लि (फलफुल) ज–जस्को हातमा परे यो वर्ष उस्लाई जागिर तथा सन्तान प्राप्ति हुने, सोचेको पुग्ने जन विश्वास रहेका कारण उरेलिएका अठमल्लि छोप्नेहरुको निकै घुइँचो लागेकाे थियाे । अठमल्लि छोप्नेमा सबैभन्दा बढी बेरोजगार युवा तथा अविवाहित महिलाहरु धेरै रहेकाे स्थानीयकाे भनाइ छ ।

कामका लागि भारत तथा अन्य देशमा गएका मानिसहरु गौरा पर्व मनाउन घर फर्किने गर्दछन् ।अन्यत्र गएकाहरु फ्रकिएकाले यस वर्ष पनि गाउँघरको व्यापार तथा चहल पहल निकै बढेको थियो । गौरा भित्र्याएको दिनदेखि तीन वा त्योभन्दा बढी  सात दिनसम्म यहाँका महिला तथा पुरुषहरुले गौरासम्बन्धी खेल खेलेर रमाइलो गर्ने गर्दछन् । 


 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया