संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित

 असार २८, २०७५ बिहिबार १६:९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि पारित गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले तयार पारेको कार्यविधिलाई सुझावसहित पारित गरेको हो ।

कार्यविधिमा सुनुवाईका लागि सिफारिस गरिएकाहरुलाई समितिको दुई तिहाई बहुमतले खारेज गर्ने व्यवस्था पनि गरिएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी सुनुवाई गर्ने क्रममा सिफारिसमा परेकाहरुले जनाएको प्रतिवद्धता अनुसार काम भए÷नभएको सम्बन्धित निकायसँग सोधपुछ गर्ने व्यवस्था पनि कार्यबिधिमा तय गरिएको छ । 

कार्यविधिमा सिफारिसमा परेका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई पनि सहभागी गराउने पनि उल्लेख गरिएको छ ।
समितिका सदस्य भट्टराईले सुनुवाई प्रक्रियालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने व्यवस्था पनि गरिएको बताउनुभयो । 

गएको मंगलबार बसेको समितिको पहिलो बैठकले कार्यविधि तय गर्न भट्टराई, शिवकुमार मण्डल केवट र पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।

समितिले आजैबाट प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीको सुनुवाई प्रक्रिया पनि सुरु गरेको छ । 

आजै सूचना जारी गरेर प्रधानन्यायाधीशमा सिफारिस जोशीको सुनुवाई प्रक्रिया सुरु गरिएको पनि समितिका सदस्य भट्टराईले जानकारी दिनुभयो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीशमा सिफारिस गरिएका व्यक्तिलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया