‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (दोस्रो ठेली)’ विमोचित

 भदौ १४, २०७६ शनिबार ६:३९:४७ | रासस
unn.prixa.net

ललितपुर - ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (दोस्रो ठेली)’  विमोचन भएको छ ।

मदन पुरस्कार पुस्तकालय, मदन पुरस्कार गुठी र यलमाया केन्द्रले संयुक्त रूपमा शुक्रबार आयोजना गरेको कार्यक्रममा त्याे ठेलीको नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्नुभएका प्रा. डा. वासुदेव त्रिपाठीले विमोचन गर्नुभयो ।

यस ठेलीमा चार पुस्तक डा. चूडामणि बन्धुले सम्पादन गर्नुभएको ‘नेपाली लोकसाहित्य र विधागत अनुसन्धानको इतिहास’, डा. दयाराम श्रेष्ठले लेख्नुभएको ‘प्रारम्भिक कालको नेपाली साहित्यको पूर्वपीठिका’, कमलमणि दीक्षित र डा. नारायणप्रसाद गड्तौलाले सम्पादन गर्नुभएको ‘नेपाली साहित्यका माध्यमिक कालको इतिहास’ र साहित्यकार बलराम अधिकारीद्वारा रचित ‘नेपालमा अनुवादको इतिहास’ समेटिएका छन् ।

नेपाली साहित्यका मोती मानिने युवककवि मोतीराम भट्ट र नेपाली भाषाका साहित्य सेवक कमलमणि दीक्षितको जन्मजयन्ती एकैदिन कुशेऔँसीमा परेकाले त्याे ठेली यसै दिन विमोचन गरिएको प्रा. डा. माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । पोखरेलले भन्नुभयो, “यस ठेली पढेर यहाँ भएका गल्ती, कमजोरी र आलोचना गर्न अनुरोध गर्दछु, बिना कुनै आलोचना पुस्तकले गति  लिन सक्दैन ।”

२०७४ सालमा यसअघि चार पुस्तक समेटिएका पहिलो ठेली विमोचन भएको थियो । विगतमा विमोचन भएका ती पुस्तकहरूमा ‘नेपाली भाषाको इतिहास’, ‘व्याकरणको इतिहास’, ‘अभिलेखीय व्याकरणको इतिहास’ र ‘अभिलेखीय शब्दकोषका इतिहास’ रहेका थिए । 

प्रा. डा. त्रिपाठीले नेपाली साहित्यको प्राथमिक र माध्यमिक काल कोर्ने व्यक्तिको रूपमा दीक्षितको नाम उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।

वरिष्ठ पत्रकार कुन्द दीक्षितले विमोचित ठेलीले समग्र वाङ्मयलाई अघि बढ्न सहयोग गर्ने बताउनुभयो ।  कार्यक्रममा आउँदो असोज ३ गते मदन पुरस्कार वितरण गरिने जानकारी दिइएको छ ।

दीक्षित रहँदा २५ वर्ष मोती जयन्ती र उहाँको जन्मजयन्ती एकै साथ काठमाण्डौमा मनाउने गरिएको थियो । उक्त ठेलीको लेखन स्वदेश तथा विदेशमा रहेका ८४ व्यक्तिबाट भएको कार्यक्रममा बताइएको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया