कसैले आत्महत्याको बाटो रोज्दैछ भन्ने कसरी थाहा पाउने ?

 भदौ १५, २०७६ आइतबार १८:५१:७ | डा.अनन्तप्रसाद अधिकारी
unn.prixa.net

काठमाण्डौ – मान्छेलगायत सबै प्राणीलाई प्रकृतिले बाँच्न चाहने इच्छा हालिदिएको हुन्छ । जन्मनेबित्तिकै बच्चा च्याँ गरेर रुन्छ । किनभने उसलाई बाँच्न इच्छा छ । उसलाई अप्ठ्यारो भयो, खानाको आवश्यकता भयो भन्ने संकेत गर्छ ।

तर समयक्रममा मान्छेमा एक खालको विचार पनि उत्पन्न हुन्छ । जसमा व्यक्तिले आफूलाई समाप्त गर्ने, आफ्नो जीवनलाई आफैले अन्त्य गर्ने विचारहरु आउँछ र कुनै माध्यमबाट जीवन समाप्त पार्छ । यसरी आफ्नो जीवनलाई आफैले समाप्त पार्ने कार्यलाई नै आत्महत्या भन्ने गरिएको छ । 

धेरैजसो आत्महत्याको कारण विचार गर्दा अहिलेसम्म लगभग ८० प्रतिशत आत्महत्याजन्य घटनाहरु कुनै न कुनै मानसिक रोगसँग सम्बन्धित भएका पाइएका छन् ।

मनोरोग अथवा मानसिक रोग भन्नेबित्तिकै व्यक्तिको शारीरिक अवस्था तन्दरुस्त छ, चुस्त दुरुस्त छ तर उसको मन, विचार, सोच, भावनामा परिवर्तन आएर देखिने व्यवहारगत समस्यालाई मनोरोगको कोटीमा राख्ने गरिन्छ । 

मनोरोगका विभिन्न कारणहरुले आत्महत्यालाई डाेर्‍याउँछन् । आत्महत्याकाे एउटै कारण हुन्छ भन्ने छैन । आणुवंशिक कारण, मस्तिष्कमा हुने न्यूरो ट्रान्समिटर, हर्मोन, अनि सामाजिक कुराहरुले ठूलो प्रभाव पारेको हुन्छ । २० प्रतिशत व्यक्तिहरुमा भने कहिलेकाहीँ एक्कासि तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास हुने गर्दछ जुन मानसिक रोगले नभएर एक्कासि हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ ।

सामान्यतया मानिसहरुले एक्कासि आत्महत्या गर्ने गर्दैनन् । आत्महत्या गर्ने बेलासम्म विभिन्न चरण पार गरेको पाइन्छ । मानसिक रोगले आत्महत्यातर्फ अग्रसर बनाउने हुँदा यो मानसिक रोगको चरण पनि बुझ्नुपर्ने हुन्छ । सामान्यतया कुनै पनि मानसिक रोगका कारणहरुलाई तीन भागमा विभाजन गर्ने गरिन्छ । एउटा जैविक कारण, दोस्रो मनोवैज्ञानिक कारण र तेस्रोे सामाजिक कारण । 

मानसिक रोगले मानिसलाई एकै पटक आत्महत्या गर्न उद्धेलित गर्दैन । यो विस्तारै बढ्दै जाने र आत्महानीको सोचहरु बढ्दै जाँदा भावनात्मक परिवर्तन हुँदै जाने र आत्महत्याको अवस्थासम्म पुर्‍याउने हुन्छ । पछिल्लो समयमा आत्महत्या भयावह रुपमा बढिरहेको छ ।  

कतै पनि उम्कने बाटो नदेखेपछि आत्महत्या

कुनै व्यक्तिले आफ्नो जीवन आफैले अन्त्य गर्न चाहँदैन । जब एउटा व्यक्ति कुनै ठूलो मानसिक रोगले ग्रसित भएर गम्भीर अवस्थामा पुग्छ अथवा कुनै तनाव झेल्न नसक्ने अवस्थामा पुग्छ, उसले जीवनलाई सम्पूर्ण रुपमा कालो देख्छ । भविष्य अन्धकार देख्छ र कतै पनि उम्कने बाटो नदेखेपछि आत्महत्याको बाटो रोज्छ । त्यसैले यो व्यक्तिले गल्ती गर्‍याे, लहडमा आएर आत्महत्या गर्‍याे भनेर भनिनु हुँदैन । 

आत्महत्यामा पुग्नुभन्दा अगाडिका केही चरणहरु हुन्छन् त्यसलाई हामीले बुझ्न सक्यौँ भने त्यसको निराकरण गर्न पनि सकिन्छ । आत्महत्यासँग जोडिएका धेरै जसो घटनाहरु मनोरोग, त्यसमा पनि डिप्रेसनबाट हुने गर्छ । जीवनको कुनै कालखण्डमा झण्डै १५ देखि २० प्रतिशत मानिसहरु डिप्रेसनको शिकार हुने गरेका छन् । 

डिप्रेसनको समस्या गम्भीर हुँदै गयो र त्यसलाई बेलैमा पहिचान गरेर उपचार गर्न सकिएन भने त्यो मान्छे आत्महत्याको चरणमा पुग्ने गर्छ । डिप्रेसन आफै एउटा रोग हो । तर अन्य भौतिक रोगहरु, संक्रमणका रोगहरु जस्तै डिप्रेसन यो चिजले हुन्छ भनेर भन्न कठिन छ । तर पनि व्यक्तिको आनुवंशिक कुराहरु जस्तो कुनै जेनेरेसनमा डिप्रेसनको अवस्था थियो भने सामान्य मानिसभन्दा उसमा डिप्रेसनको खतरा बढी हुन्छ ।

त्यस्तै बाह्य तत्वहरु तथा सामाजिक कुराहरुले पनि प्रभाव पार्छ । अहिलेको बढ्दो महत्वकांक्षा, शिक्षित बेरोजगारी, बसाइसराइ, वैदेशिक रोजगार, लागुपदार्थ दुर्व्यसन, विवाहेतर सम्बन्ध, आर्थिक समस्याले मानिसलाई डिप्रेसनको सिकार बनाउँछ ।  

स्माइलिङ डिप्रेसन

मानिसमा अस्वभाविक आचरण व्यवहार देखिन थाल्यो भने कतै मनोरोगको अवस्थामा पुगेको हो कि भन्ने बेलैमा पहिचान गर्न सक्नुपर्छ । त्यस्तो अवस्थामा पुगेकालाई उपचारमा ल्याउन सकियो भने आत्महत्या गर्नबाट बचाउन सकिन्छ । 

डिप्रेसनको विभिन्न खाले लक्षण हुन्छ । त्योमध्ये व्यक्तिमा दुई हप्ताभन्दा बढी समय लगातार झिँझोपन, निरासा, नकारात्मक सोच आउने, थाक्ने, गल्ने, उत्साह, उमंग हराउनेजस्ता लक्षणहरु हुन्छन् । यस्तै निन्द्रामा गडबडी आएसँगै कतै मलाई डिप्रेसनको अवस्था पो आयो कि भन्ने पनि हुन सक्छ । 

अघिल्लो दिनसम्म हाँसखेल गरेर ठट्टा गरेर बसेको मान्छे अचानक आत्महत्या गरेको पनि हामीले देखेका छौँ । डिप्रेसनमा पनि एउटा अर्को शब्दावली छ जसलाई स्माइलिङ डिप्रेसन भनिन्छ ।

भित्रभित्र मानिसलाई डिप्रेसनले गालिसकेको हुन्छ । तर बाहिर उसको दैनिक दिनचर्यामा कुनै खासै फरक देखिँदैन । सामाजिक तथा जागिरे जीवन पनि ठिकै देखिन्छ । हाँसखेल गरिरहेको हुन्छ तर भोलिपल्ट नराम्रो घटना हुन जान्छ ।  

लक्षण थाहा पाइन्छ

यो मान्छे डिप्रेसनमा जाँदै छ है भनेर परिवारका सदस्य, साथीभाइले थाहा पाउने अवस्था रहन्छ । बिनाकारण अथवा स–साना कारणले झिँझो मान्ने, झर्को मान्ने, पहिले–पहिले उसलाई रुचि लाग्ने विषयमा रुचि घट्दै जाने, रमाइलोपन महसुस नगर्ने, एक्लै बस्ने, टोलाउन थाल्ने देख्नेबित्तिकै यो मान्छे डिप्रेसनको सिकार भएछ है भनेर बुझ्नुपर्ने हुन्छ ।

यस्तै उसको खाने, सुत्ने समय फरक हुँदै गयो र यदाकदा जीवनप्रति नकारात्मक अथवा वितृष्णाका कुराहरु गर्न थाल्यो भने पक्कै मेरो मान्छेलाई केही भएको हो कि भन्ने खालको शंका गर्नुपर्छ र सम्बन्धित ठाउँमा लगेर परामर्श लिन ढिला गर्नु हुँदैन । डिप्रेसनको सुरुवाती अवस्थालाई मनोपरामर्शले पनि काम गर्छ तर डिप्रेसनले च्यापेपछि भने औषधि उपचार नै गर्नु पर्छ ।  

कुनै पनि व्यक्तिलाई आत्महत्याको सोच छ अथवा आत्महत्या गर्दैछ भने त्यो व्यक्ति निराश हुने, आशाविहीन हुने, सहयोगविहीन भएको महसुस गर्ने वा आफू मूल्यहीन भएको महसुस गर्ने गर्दछ । पहिला यस्ता सोचहरु नआएको तर हालको अवस्थामा मूल्यहीन, सहयोगविहीन, आशाविहीन भएको सोचहरु आइरहेको छ भने त्यस व्यक्तिले आत्महत्या गर्ने सम्भावना हुन्छ भनेर बुझ्नुपर्दछ ।

र अर्काे कुरा हालको समयमा आएर यदि त्यो व्यक्ति एकदमै हिंस्रक भैरहेको छ, छटपटाहट भएको छ वा एक्लो महसुस गरेर कसैसँग पनि नबोल्ने, एक्लै टोलाएर बस्ने गरिरहेको छ भने त्यस्तो अवस्थामा पनि व्यक्तिले आत्महत्या गर्न सक्छ भनेर बुझ्नु पर्दछ । त्यस्ता व्यक्तिको बानी व्यहोरा सबैभन्दा पहिले परिवार र साथीभाइले थाहा पाउँछन् । त्यसैले त्यस्ता व्यक्तिलाई सहयोग गरेर मानसिक परामर्श लिनुपर्दछ ।

आत्महत्याको बाटो रोज्दैछ भन्ने कसरी थाहा पाउने ?

हरेक व्यक्तिले आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि सफल हुने सपनाका साथ अघि बढिरहेको हुन्छ । सामान्यतया अध्ययनहरुले के देखाएको छ भने कुनै पनि व्यक्तिले आत्महत्या गर्नुभन्दा १ देखि २ हप्ता अगाडि अब आफ्नो जीवन अन्त्य गर्दैछु, यसपछि मेरा बालबच्चाको के हुन्छ, मेरो सन्ततिहरुको के हुन्छ भन्ने सोचेर चाँजोपाँजो मिलाउने, सम्पत्तिको भागबन्डा लगाइदिने वा अब जीवन यस्तै रहेछ मेरो छोराछोरीको ख्याल राख्नु भन्ने खालको कुराहरु आफ्नो नजिकको नातेदारहरुसँग, साथीभाइसँग बाँड्ने वा चिकित्सकसँग व्यक्त गर्ने गर्दछन् ।

त्यस कारणले गर्दा यस्ता खालका संकेत हामीले देख्यौँ भने त्यस व्यक्तिमा पक्कै पनि आत्महत्याको सोचहरु छन् भन्ने कुरा पहिचान गर्न सकिन्छ । यस्तै आत्महत्या गर्न चाहने अथवा आत्महत्याको बाटो रोजिसकेकाहरुले एकान्त खालको वातावरण खोजिरहेका हुन्छन् । 

निगरानी

साथीभाइ परिवारका सदस्यले यदि नजिकको व्यक्तिले त्यस्तो गरिरहेको छ भने उसको हरेक समयको निगरानी राखिरहनु पर्छ । उसलाई एक्लै छाड्नु हुँदैन । चौबीसै घण्टा नै उनीहरुलाई निगरानीमा राखिरहने गर्नुपर्दछ ।

यस्तै धारिलो हातहतियार, औजारहरु, त्यसैगरी डोरी, विषादीहरु पनि यस्ता व्यक्तिको पहुँचबाट टाढा राख्नुपर्दछ । उनीहरुलाई पटक–पटक चेक गरिरहनु पर्दछ किनभने कहिलेकाहीँ यस्ता व्यक्ति बाथरुममा गएर चुकुल लगाएर त्यहीँबाट पनि आत्महत्या गर्न सक्दछन् । अर्को कुरा २/४ तला माथिबाट हामफालेर पनि आत्महत्याको प्रयास गर्न सक्दछन् ।

त्यसैले झ्याल ढोका पनि खुल्ला राख्नुहँुदैन । झ्याल ढोका खुल्ला हुँदा बाहिर गएर आत्महत्या गर्ने सम्भावना हुन्छ । मुख्य कुरा यदि आत्महत्यासम्मको सोच नै आइसकेको छ भने हामीले सकेसम्म मानसिक परामर्श उपलब्ध भएको अस्पतालमा भर्ना गरेर उपचार गर्दा निकै राम्रो हुन्छ ।
 
बचाउन सकिन्छ

आत्महत्याको सोच भएका व्यक्तिहरुलाई जोगाउनका लागि हामीसँग निश्चित समय हुन्छ । यदि त्यस समयावधिमा व्यक्तिलाई जोगाउन सकियो भने आत्महत्या शतप्रतिशत रोकथाम गर्न सकिन्छ ।

तर पटक–पटक आत्महत्या गर्ने सोच आइसकेपछि भविष्यमा पनि त्यो सोचे दोहोरिने वा बल्झिने अवस्था रहन सक्ने भएको हुँदा भविष्यका दिनहरुमा परिवारजन सजग रहनु अत्यावश्यक हुन्छ ।

यति गर्न सकियो भने पक्कै पनि आत्महत्या रोकथाम गर्न सकिन्छ । २०/३० प्रतिशतमा भने भविष्यमा गएर दोहोरिने सम्भावना भएको हुँदा हामीले निगरानीमा राख्न आवश्यक हुन्छ । 

सेवा लिन नहिच्किचाउँ

तपाईँले नजिकको मानसिक तथा मनोसामाजिक परामर्श दिने संस्थामा गएर सेवा लिन सक्नुहुनेछ । तपाईँले समयमा नै यस्तो खालको सेवा लिनुभयो र औषधि उपचार गर्नुभयो भने आत्महत्या रोकथाम गर्न सकिन्छ ।

त्यसैले यस्ता खालका लक्षणहरु आफूमा छ भने सजग भएर समयमै सहयोग लिनुभयो भने राम्रो हुन्छ । तपाईँले सकारात्मक सोचहरु विकास गर्ने, आफूलाई मनोरञ्जनात्मक क्रियाकलापहरुमा भुलाउने र दिनचर्याका क्रियाकलापहरु जे जति सकिन्छ त्यो गर्नुपर्दछ ।

यसका साथैै मनोसामाजिक सहयोग, नैमनोविद्बाट मनोपरामर्शका सहयोग लिपर्ने हुन्छ ।
 

अन्तिम अपडेट: असोज ३, २०७६

डा.अनन्तप्रसाद अधिकारी

डा.अनन्तप्रसाद अधिकारी मानसिक अस्पताल लगनखेलका प्रमुख मनोचिकित्सक हुनुहुन्छ ।

1 Comments

  • Ramesh Aacharya

    Sept. 2, 2019, 11:43 a.m.

    Excellent information to raise awareness on this important issue. Keep it up!

  •  0 Reply

तपाईको प्रतिक्रिया