कश्मीरमा भारतकाे कदम स्वीकार्न सकिँदैन: अमेरिकी वरिष्ठ नेता बर्नी स्याण्डर्स

 भदौ १५, २०७६ आइतबार १९:३९:३९ | एजेन्सी
unn.prixa.net

अमेरिकाका वरिष्ठ नेता तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीमा उठेका बर्नी स्याण्डर्सले कश्मीरमा भारतको कदम अस्वीकार्य रहेको बताएका छन् । 

स्याण्डर्सले आफू कश्मीरको हालतलाई लिएर चिन्तित भएको पनि बताएका छन् । 

वर्मोन्ट शहरबाट सिनेटर बर्नी स्याण्डर्सले सुरक्षाको नाममा कश्मीरमा विरोधको आवाज दबाइँदा मानिसहरु स्वास्थ्य सेवाको पहुँचबाट पनि बञ्चित भएको भनेका छन् । 

उनले भने, ‘भारतमा कैयौँ डाक्टरहरुले कश्मीरमा भारत सरकारको तर्फबाट लगाइएको प्रतिबन्धको कारण बिरामीहरुको जीवनरक्षक उपचारसम्म मिल्न नसकेको बताएका छन् ।’

अमेरिकामा मुसलमानहरुको एक सम्मेलनमा बोल्दै बर्नी स्याण्डर्सले जम्मू कश्मीरमा सञ्चार सेवामा लगाइएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्ने बताए । साथै उनले अमेरिकी सरकारले अन्तर्राष्ट्रिय मानवअधिकारको समर्थनमा प्रखर भएर बोल्नु पर्नेमा जोड दिए । 

एक दिन अघिमात्र अमेरिकी सांसद एन्डी लेविनले पनि कश्मीरमा नरेन्द्र मोदीको सरकारले उठाएको कदमको आलोचना गर्दै मोदीले लोकतान्त्रिक मूल्य र मानवअधिकारलाई चोट पुर्‍याएको बताएकी थिइन् । 

यसैबीच अमेरिकी थिंक ट्यांकले भारत प्रशासित कश्मीरको हालतको असर अफगानिस्तानमा भैरहेको वार्तामा पर्नसक्ने बताएका छन् । 

यही सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भिडियो कन्फ्रेन्सिङको माध्यमबाट भाषण दिए । उनले भारतमा जे भैरहेको छ, त्यसको बारेमा पश्चिमी दुनियाँलाई बताउन जरुरी नरहेको बताए । 

इस्लामिक सोसाइटी अफ् नर्थ अमेरिका (आईएसएनए) को ५६ औँ अधिवेशनमा इमरानले भने, ‘तपाईँ पश्चिमी दुनियाँलाई राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को बारेमा सम्झाउनै पर्छ ।’ भाषणकै क्रममा इमरानले आरएसएसले हिन्दूहरुको नश्लीय श्रेष्ठता कायम राख्ने र भारतमा मुसलमानको नश्ल नै मेटाउन चाहने बताए । 

इमरानले भने, ‘हालै भएको चुनावमा बीजेपीको जितपछि आरएसएसको मजबुत शक्ति भएर उभिएको छ ।’

‘नाजी पार्टीले एउटा छोटो व्यवस्थित विचारधाराको समूहले वास्तवमा एक देशलाई नियन्त्रणमा लिन सक्ने साबित गरेको थियो । भारतमा पनि यही भएको हो । एक चरमपन्थी विचारधाराले भारतलाई नियन्त्रणमा लिएको छ’, इमरानले थपे । 

भिडियो लिंकको माध्यमबाट दिएको आफ्नो सन्देशमा इमरानले आईएसएनएबाट कश्मीरको मुद्दामाथि अन्तर्राष्ट्रिय जागरुकता फैलाउनको लागि अपिल पनि गरे । 

यसैबीच पाकिस्तानका विदेश मन्त्री शाह मुहम्मद कुरैशीले उमरकोटमा एक हिन्दू मन्दिरमा पाकिस्तानी हिन्दूहरुको सम्बोधन गर्दै युरोपियन संघमा सोमबार कश्मीर मुद्दामा चर्चा हुने बताए । 

उनले भने, ‘भारतले युरोपियन संघलाई पाकिस्तानको आग्रहमा आउँदो सेप्टेम्बर २ मा कश्मीर चर्चा रोक्ने विफल प्रयास गरेको छ ।’ कुरैशीले चाँडै नै कश्मीर मामिला लिएर जेनेभा जाने पनि बताए ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया